मायादेवी अनलाइन, चार नम्बर ।
सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपानेले कोरोनाको मारमा परेका रेडियोलाई स्थानीय सरकारले हेर्नु पर्ने बताउनु भएको छ । कोरोना महामारीको बेला अग्रभागमा रहेर दुर दराजसम्म सूचना प्रबाह गर्ने सबैभन्दा छिटो माध्यमको रुपमा रहेका रेडियोहरु यति बेला चरम आर्थिक संकटमा रहेकाले तिनलाई बचाउन अब स्थानीय सरकारले सहयोग गर्नु पर्ने उहाँले बताउनुभयो ।
कोरोनाको समयमा सामुदायिक रेडियोको हक हितको सम्बन्धमा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ ले गरेको भर्चुअल वैठकमा न्यौपानेले भन्नुभयो, ‘रेडियोको मुख्य आम्दानी बजार र नीजि क्षेत्र रहेपनि यति बेला ती सबै बन्द भएको अवस्थामा रेडियोलाई खर्च धान्न मुस्किल भएको छ । अब तिनलाई बचाउने कि बन्द गर्ने स्थानीय सरकारको हातमा छ ।’
उहाँले भन्नुभयो, ‘यति नै सहयोग गर्नु पर्छ भन्ने छैन, यो तीन महिना जिल्लाका सामुदायिक तथा नीजि रेडियो धेरै समस्यामा छन् । कम्तिमा पनि यो तीन महिनाको समस्यालाई मध्येनजर गरी स्थानीय सरकारले सहयोग गर्नुपर्दछ ।’
कोरोना महामारीका बेला स्थानीय सरकारका गतिविधी र जनचेतनालाई जनतासमक्ष पुर्याउनको लागि ज्यानको बाजी राखेर रेडियोकर्मी लागेको कुरा स्थानीय सरकारले बुझ्नु पर्ने उहाँले बताउनु भयो ।
लक डाउन सकिएपछि पनि केही समय रेडियोहरुलाई उठ्न समस्या नै हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन जिल्लाभरका स्थानीय सरकारलाई न्यौपानेले आग्रह गर्नभयो । ‘सबै पालिकाले जिल्लाका सबै स्थानीय रेडियोलाई सहयोग गर्न सम्भव नहोला, तर जुन स्थानीय तहमा जति रेडियो छन्, तिनलाई भने तत् स्थानीय तहले नै हेर्नै पर्छ, यो पालिकाको कर्तब्य पनि हो’ उहाँले भन्नुभयो ।
यसको लागि सामुदायिक रेडियो प्रसारक संघ केन्द्रिय समिति पनि सकारात्मक रहेको पनि उहाँले जानकारी दिनुभयो । सोमबारको ‘जुम भर्चुअल’ मिटिङमा केन्द्रिय अध्यक्ष सुवास खतिवडा, वरिष्ठ उपाध्यक्ष, महासचिव, प्रदेश ५ का अध्यक्ष केपी घिमिरे लगायतका प्रदेश भरका ३४ बढी रेडियोका प्रतिनिधिले भाग लिएका थिए । सबैले अहिले आर्थिक समस्याका बाबजुत पनि रेडियोले काम गर्नु पर्ने बाध्यता रहेको भन्दै यस विषयमा केन्द्रलाई पनि पहल गर्न आग्रह गरेका थिए ।
सो वैठकमा जिल्लाबाट सामुदायिक रेडियो परिवर्तनका प्रमुख दिलिप कुमार यादव, रेडियो भ्वाइसकी प्रमुख गीता पौडेल, रेडियो समानताका प्रमुख कृष्ण गैरे, रेडियो शिवराजका प्रमुख दीपक केसी, रेडियो कपिलवस्तुकी प्रमुख सोना खटिकले पनि रेडियोका समस्या राख्दै यो विषयमा ऐक्यवद्धता जनाउनु भएको थियो । साथै वैठकमा भाग लिएकाहरु सबैले कोरोनाको बेला स्थानीय सरकारले बनाएको राहत कोषबाट पनि रेडियोहरुलाई हेर्नु पर्ने बताएका थिए ।
न्यौपानेले शिवराज नगरपालिकाले रेडियोको समस्याप्रति देखाएको मायाको प्रसंसा गर्नुभएको छ । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरको राहत कोष र अन्य बार्षिक सहयोग गरी हरेक रेडियोहरुलाई दुईदुई लाख रुपैयाँ बजेट बिनियोजन गरेको भन्दै यो नगरको निकै प्रसंसनीय काम भएको बताउनु भयो ।
जिल्लाका अन्य पालिकाले पनि शिवराजबाट पाठ सिकी कुनै रेडियोप्रति भेदभाव नगरी, राजनैतिक आग्रह पूर्वाग्रहमा नरही सहयोग गर्न सबै पालिका प्रमुखहरुलाई न्यौपानेले अपिल गर्नुभएको छ । प्रदेशको भर्चुअल वैठकमा रेडियोहरुको हक र हितको लागि प्रदेश र केन्द्र तहबाटै सहयोग गर्ने गरी छलफल अघि बढेको अध्यक्ष सुवास खतिवडाले जानकारी गराउनु भएको थियो ।







प्रतिक्रिया