बुटवल ।
प्रदेश ५ का ११ जिल्लामा हालसम्म ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ मा भेटिएका संक्रमित मध्ये झण्डै आधा संक्रमित कपिलवस्तु जिल्लाबाट रहेका छन् । हालसम्म कपिलवस्तुमा ४ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार त्यहाँका १० वटै पालिकामा कोरोना संक्रमित रहेका छन् । कपिलवस्तुमा अझैपनि भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको र क्वारेन्टिनमा रहेकाहरुको समेत स्वाब संकलन हुन बाँकी रहेकोले संक्रमितको संख्या थपिदै जाने कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
कपिवस्तुमा बुधबारसम्मको तथ्यांक अनुसार ३ हजार ३ सय २५ जना क्वारेन्टिनमा छन् भने १ हजार ३ सय ९६ स्वाव परीक्षण गर्न बाँकी रहेको छ । कोरोना परीक्षणका लागि प्रदेशका १२ वटै जिल्लाबाट १८ हजार ३ सय ६३ जनाको स्वाब संकलन गरिएको छ, जसमा १४ हजार २ सय ६७ जनाको स्वाव परीक्षण रिपोर्ट आएको छ।
ती मध्ये ८ सय ११ जनामा कोरोना पोजेटिभ पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संकलन गरिएको मध्ये ४ हजार १ सय जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको छ । त्यस्तै बुधबार मात्रै ८ सय ८५ जनाको स्वाब संकलन गरिएको निर्देशनालयले जनाएको छ ।
कपिलवस्तु बाहेकका बाँकी संक्रमितमध्ये बाँकेमा २ सय १३ जना रहेका छन् । रुपन्देहीमा ८९, दाङमा ५८, नवलपरासीमा १५, जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार बर्दियामा १३, पाल्पामा ७, गुल्मीमा ५, तथा अर्घाखाँची, पूर्वी रुकुम र प्यूठानमा ३-३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये बुधबारसम्म ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
बाँकी ७ सय ३१ जना संक्रमितको प्रदेशका कोरोना विशेष अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा उपचार भईरहेको निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।
प्रदेशका ११ वटा जिल्लामा संक्रमितको संख्या दैनिक रूपमा थपिदै गएपनि एउटा पहाडी जिल्ला रोल्पामा भने हालसम्म संक्रमत फेला परेका छैनन्।







प्रतिक्रिया