सैनामैना ।
रुपन्देहीको सैनामैनाकी एक कोरोना संक्रमित महिलालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घरमै बसोबास गर्दै आएकी ती महिलामा कोरोना संक्रमण देखिएको थियो ।
पित्तथैलीमा समस्या लगायत दीर्घरोग रहेकी सैनामैना नगरपालिका वडा नं. १ कि ४८ वर्षकी महिलामा बिहीबार मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।
ज्वरो आउनेलगायत कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमित महिलालाई उपचारका लागि शुक्रबार काठमाडौंको पठाइएको छ ।
उनको परिवारमा श्रीमान् र २ छोरा छन् । सैनामैनामा शुक्रबारसम्मको तथ्यांक अनुसार २४ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार मात्रै सैनामैना १ बनकट्टामा रहेको क्वारेन्टिनमा बसेका १७ पुरुष र घरमै बस्दै आएकी उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित महिलाका परिवारलाई घरभित्रै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
परिवारका तीनजना सदस्यको स्वाब शुक्रबार नै प्रयोगशालामा पठाइएको र महिलासंग सम्पर्कमा रहेका अन्यको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको पनि स्वाब संकलन गरी पीसीआर टेस्ट गरिने नगर प्रमुख कार्कीले बताए ।







प्रतिक्रिया