२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

वाणगंगा ठाकुरापुरकी ८ बर्षीया बालिकासंगै कपिलवस्तुका १० जनाले कोरोना जिते



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका १० जनाले कोरोना जितेर आइतबार घर फर्किएका छन । बुटवल र दाङको दुई आइसोलेसन सेन्टरमा उपचाररत १० जनाले कोरोना जितेका हुन् ।

कोरोना जितेर घर फर्किनेमा वाणगंगा ४ ठाकुरापुरकी ८ बर्षीया बालिका पनि रहेकी छिन । उनी बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनमा बनाइएको आइसोलेसन सेन्टरमा उपचाररत थिइन । उनीसंगै अरु ७ जना कपिलवस्तु र रुपन्देहीका एक जनाले कोरोना जितेका छन ।

एन्फा एकेडेमी भवनको आइसोलेसनमा जेठ ११ गतेदेखि रहेका कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ वर्षीया बालिका र १९ वर्षदेखि ५३ वर्ष उमेरका ७ जना पुरुष गरी ८ जना तथा रुपन्देहीको गैडहवाका २८ वर्षीय पुरुष डिस्चार्ज भएको लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले बताउनुभयो ।

४१ जना उपचाररत रहेका मध्ये ९ जनाको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. तिवारीले बताउनुभयो । अब एन्फा एकेडेमीको आइसोलेसनमा ३२ जना संक्रमित उपचाररत छन् ।

यता दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित कोरोना निको भएर आइतबार डिस्चार्ज भएका हुन् । त्यस मध्ये कपिलवस्तुका दुई जना रहेका छन । बाँकेका पाँच, दाङका दुई र बर्दियाका एकजना संक्रमित पनि उपचारपछि निको भएर घर फर्किएका छन् ।

यससँगै प्रदेश ५ मा हालसम्म उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या १ सय ४३ पुगेको छ । प्रदेश ५ मा ८ सय ६० जना कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  २ : ४७ बजे