२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

भारतमा रेल चलेपछि झण्डै ७ हजार छिरे प्युठानी



सलिम अन्सारी, प्युठान
भारतमा रेल चलेसँगै नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । फर्किएकालाई अहिले सीमा नाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा ल्याएर राख्न थालेका छन् ।

बन्दाबन्दी शुरु भएदेखि यता कपिलवस्तुको कृष्णनगर नाका हुँदै प्युठान आउनेको संख्या ठूलो छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार लकडाउनपछि भारत सहितका विभिन्न ठाउबाट प्युठान भित्रिनेको संख्या झण्डै दश हजार छ ।

भारतमा रेलवे सेवा सुचारु भएसंगै आईतबार बिहानसम्म प्युठान भित्रनेको संख्या जम्मा ६ हजार ९ सय ४३ जना रहेको डिएसपी कार्कीले बताए ।

क्वारेन्टिन भरिभराउ

बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका नौवटै स्थानीय तहले क्वारेन्टिनको क्षमता पनि बढाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नौवटै स्थानीय तहमा क्वारेन्टिनको सङ्ख्या २५२ रहेको छ । क्वारेन्टिनमा शैया सङ्ख्या ६ हजार ८१३ र क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या ५ हजार ३१६ रहेको छ ।

हालसम्म क्वारेन्टिन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । होम क्वारेन्टाईनमा ७६ जना बसिरहेका छन भने आइसोलेशनमा राखेर कोरोना पुष्टि भएका ३ जनाको उपचार भईरहेको छ ।

स्थानीय तहलाई हम्मे हम्मे

स्वदेश फर्कने सबैलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राखिँदै आएको छ । स्वदेशबाट आउनेलाई होम क्वारेन्टिन र विदेशवाट आउनेलाई अनिवार्य क्वारेन्टिनमा राख्ने गरिएको छ ।

बढ्दो चापले क्वारेन्टिनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई हम्मे हम्मे छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहलाई भ्याईनभ्याई छ । यद्धपी, क्वारेन्टिनमा भद्रगोल राखिएको गुनासो समेत बढ्न थालेको छ ।

उनीहरुले क्वारेन्टिनमा बस्नेहरुलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउन नसकेको गुनासो छ । क्वारेन्टिनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेपछि स्थानीय तहहरुलाई ब्यवस्थापनमा समस्या परेको हो ।

पर्खाई पिसीआरको रिपोर्टको

स्वास्थ्य कार्यालयले शनिबारसम्म जिल्लाभर ३ हजार २ सय ८६ जनाको आरडीटी परिक्षण गरिएकोमा २ सय १९ जनाको नतिजा पोजेटिभ देखिएको जनाएको छ । स्वाब परीक्षणका लागि पठाईएका ५११ जनाको रिपोर्ट आउन बाँकी छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा परिक्षणका लागि उनीहरुको स्वाब पठाइएको छ । अहिलेसम्म प्युठानको स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना देखिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ४३ बजे