२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

प्यूठानमा आइसोलेशन सेन्टर संचालनमा ढिलाई, संक्रमित राख्न पर्न थाल्यो सकस



सलिम अन्सारी, प्यूठान ।
प्यूठानमा आवश्यक आइसोलेशन सेन्टर नहुँदा समस्या भएको छ । कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आइसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्यूठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आइसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन् ।

जिल्ला अस्पताल प्यूठानले आइसोलेशनमा आवश्यक चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध गराउन नसक्दा आइसोलेशन संचालनमा ढिलाई भएको एक बिश्वस्त श्रोतले बताएको हो ।

तर, प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्ण पन्थले भने आवश्यक सामग्रीको अभावका कारण आइसोलेशन संचालनमा ढिलाई भएको बताए ।’ आवश्यक सामग्री ब्याबस्थापन गर्दै छौँ उनले भने, ‘त्यसपछि मात्र आइसोलेशन संचालन गर्ने भनेका छौँ ।’

आइसोलेशनमा चाहिने सामग्रीको परिपूर्तीका लागि जिल्लाका स्थानीय तहहरुलाई आग्रह गरिएको उनले बताए ।

त्यसो त जिल्लाका नौ वटा स्थानीय तह मध्ये धेरैजसोले आइसोलेशन समेत बनाएका छैनन् । स्वर्गद्धारी नगरपालिकामा २६ र माण्डवी गाउँपालिकाले १० बेडको आइसोलेशन तयार गरेका छन । ती आइसोलेशनमा पनि आवश्यक सामग्री अभाव छ ।

आइसोलेशन सेन्टर ब्यवस्थित नहुँदा कोरोना संक्रमितलाई राख्न सकस परेको हो । अहिलेसम्म जिल्लामा १२ जना संक्रमित छन् । त्यसमध्ये २ जनालाई दाङको क्वारेन्टाइनमा कोरोना पुष्टि भएको हो । जिल्लाबाट स्वाब संकलन गरी पठाएका अझै ३ सय ६७ जनाको पिसीआर रिपोर्ट आउँन बाकी रहँदा अहिले भेटिएका संक्रमितलाई ब्यवस्थित गरी राख्न हम्मेहम्मे परेको छ ।

पिसीआर रिपोर्ट पोजेटिभ दर्जनांै हुन सक्छन भन्ने गरी स्वास्थ्यकर्मीसहित जिल्ला विपद् व्यबस्थापन समितिको तयारी कमजोर सावित भएको छ । दिनदिनै संक्रमित बढ्दै जाँदा जिल्लामा भयावह स्थिति आउन सक्ने देखिएको जिल्लाबासी बताउँछन । जिल्लामा कोरोना बिरुद्ध जुध्न गरिएको पूर्वतयारी र ब्यवस्थापन फितलो रहेको प्यूठानका नागरिक अगुवाहरुले टिप्पणी गर्न थालेका छन ।

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले पनि मुख्यमन्त्री कार्यालयबाट निर्देशन गरिए बमोजिम जिल्लामा तत्तकाल ५० बेडको आईसोलेशन संचालनमा ल्याउनुपर्ने आवास्यक्ता देखिएको बताउँछन् ।

स्थानीयतहमा तयार रहेका क्वारेन्टाइनलाई पनि सुधार गर्दै आईसोलेशन सेन्टरका रुपमा बिकास गर्दै लैजानुपर्ने सुबेदिको भनाई छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ५ : ०८ बजे