बुटवल ।
देशमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश ५ मा क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या पनि दिनदिनै बढ्दै गएको छ ।
मंगलबार साँझसम्म प्रदेशका १२ जिल्लामा ३७ हजार ३ सय ८० जना क्वारेन्टाइनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । क्वारेन्टाइनमा रहेका करिब ३२ हजारको स्वास्थ्य परीक्षण गर्न बाँकी छ ।
क्वारेन्टाइनमा सबैभन्दा धेरै दाङमा ५ हजार ४ सय ४६ र प्यूठानमा ५ हजार ८५ जना छन् । बर्दियामा ४ हजार ९ सय ५५, अर्घाखाँचीमा ४ हजार ३ सय ८ र गुल्मीमा ४ हजार २ सय २७ छन् । यस्तै रोल्पामा २ हजार १ सय ४४, पाल्पामा २ हजार १६, कपिलवस्तुमा २ हजार ७४, रुपन्देहीमा २ हजार १, नवलपरासी पश्चिममा ९ सय २२ र रुकुम पूर्वमा २ सय ५८ जना क्वारेन्टाइनमा बसेका छन् ।
सामान्यतया क्वारेन्टाइनमा बसेको १४ दिनभित्र स्वास्थ्य परीक्षण गर्नुपर्छ । तर यहाँका क्वारेन्टाइमा २० दिनदेखि पालो कुरेका व्यक्तिको समेत स्वास्थ्य परीक्षण हुन सकेको छैन । परीक्षण किट सीमित मात्रामा रहेकाले छिटोछरितो रुपमा स्वास्थ्य परीक्षण गर्न नसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । ‘एकातिर मागअनुसारका परीक्षण किट र उपकरण छैनन्, अर्कोतिर प्रयोगशालाको क्षमता पनि कम छ,’उनले भने, ‘यही कारण चाहेजसरी संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य परीक्षण हुन नसकेको हो ।’
प्रदेशमा मंगलबार साँझसम्म एक हजार २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार नयाँ २६ जना थपिएका हुन् । प्रदेशका विभिन्न कोरोना विशेष अस्पताल र आइसोलेसनमा गरी १ हजार १३ जनाको उपचार भइरहेको छ । एक सय ८३ जना भने निको भएर घर फर्केका छन् प्रदेश ५ मा कोरोना भाइरसको संक्रमण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा बाँके, अर्घाखाँची, पाल्पा र गुल्मीमा एक–एक जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा मृत्यु भएका दाङका ५९ वर्षीय पुरुषमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो । इकान्तिपुरबाट







प्रतिक्रिया