२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालारानी ४ का ५७ बर्षीय यम प्रसाद खनाल रहेको मालारानी गाउँपालिकाका स्वास्थ्य प्रमुख भबिश्वर खनालले बताउनुभयो । भारतको मुम्बईबाट जेठ १५ गते आईपछि उनी स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

एक्कासी मंगलबार स्वास्थ्यमा समस्या आएपछि सन्धिखर्क उपचार गर्न ल्याएको थियो । यहाँ उनको उपचार सम्भव नभएपछि उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । बुटवलबाट उपचार गरी फर्किदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत बिजय बिकले बताउनुभयो ।

भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा एक्कासी समस्या आएपछि उपचारका लागि क्वारेन्टाइनबाट निकालिएको थियो ।

घर फर्कदै गर्दा गोरुसिंगे सन्धिखर्क सडकखण्डको कोन्द्रे खोलामा बुवाको मृत्यु भएको मृतकका छोरा प्रकाश खनालले बताउनुभयो । जेठ २३ गते उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको छ । तर, रिपोर्ट आएको छैन ।

मृतक खनालसंगै बिद्यालयको एउटै कोठामा अन्य ६ जना क्वारेन्टाइनमा बसेका थिए । उनीहरूको पनिसंगै स्वाव पठाईएको थियो । अहिले शवलाई जिल्ला अस्पतालमा लगिदै छ । शवको व्यवस्थापन कसरी गर्नेबारे जिल्लामा छलफल भैरहेको बुझिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७ बुधबार ००:००  १ : ५२ बजे