रेडियो   टिभी

संस्मरण : ‘विद्यार्थी जीवनको यादहरु’


कोपिला गौतम
निकै रमाइला ती अविस्मरणीय दिनहरु लाग्दछ अहिले त त्यो दिनहरुबाट धेरै टाढा पुगिसकेकी छु । मलाई त्यो अतितका बिद्यार्थी जीवनको ती पलहरु म संगबाट सधै सधैको लागि बिछोड भएर गएको अनुभव लाग्छ । अब त ती दिनहरु कहिल्यै फर्केर आउँदैनन् र सम्झनामा मात्रै सिमित हुन्छन् । आनन्दमय स्वर्ग जस्तो जीवन सम्झदा मन खुशी हुनुको साथै सम्झनामै डुबिसकेकी हुन्छु ।

बिद्यार्थी जीवनको प्रारम्भमा जुन बेला भर्खर मात्रै बिद्यालयमा प्रवेश गर्न थालेकी थिए, त्यो बेला मम्मिले दुई चुल्ठा कपाल बाट्दिएर, ड्रेस लगाइदिएर, झोला बोक्दिएर हात समाएर बिद्यालयसम्म पुर्याइदिनु भएको दिनहरु सम्झदा अस्ति भर्खरै जस्तो महसुस हुन्छ ।

बोली पनि स्पष्ट आउँथेन । तोते बोलिले किताबहरु पढ्थे र लेख्दा पनि त्यस्तै लेख्थे ।

दिउँसभर बिद्यालयमा बसेर पढ्ने, टिफिन समयमा साथीहरुसँगै बसेर नास्ता खाने अनि विभिन्न किसिमका खेलहरु खेल्ने गरिन्थ्यो । साँझ ४ बजेपछि घर फर्किन्थ्यो अनि हातमुख धोएर, नास्ता खाएर खेल्न गइन्थ्यो । साथीहरूसँग रुमाल लुकाउने, गोट्टी, लुकामारी, भाँडाकुटी जस्ता खेलहरु खेलिन्थ्यो । मम्मिले र दिदीले हात समाएर गृहकार्य गराउनु हुन्थ्यो अनि पढ्न सिकाउनु हुन्थ्यो । मनमा कुनै चिन्ता हुन्थेन । स्वतन्त्रता हुन्थ्यो भने न त कसैको दबाब सबैले धेरै माया गर्नुहुन्थ्यो ।

दुख के हो ? चिन्ता के हो ? अभाव के हो ? यस्तो कुराहरूबारे केही थाहा थिएन । एकोहोरो पढ्ने, खाने र खेल्ने मा नै सारा समय बित्थे ।

राति सुत्नु अघि मलाई धेरै कथा सुन्न मन पर्थेयो । मम्मी दाईदिदीले राम्रो राम्रो कथा सुनाउनु हुन्थ्यो भने कहिले कविता वाचन गर्ने कहिले मीठो स्वरमा गीत गाएर सुनाउनु हुन्थ्यो । कथा सुन्दा सुन्दै म निदाउन थाल्थे । म निदाए पछि मात्रै दाइदिदी र मम्मी सुत्नु हुन्थ्यो । टिभी, मोबाइल, कम्प्युटर केही साधनहरु थिएन । जीवन सादा थियो तर पनि प्रकृतिसँगै जोडिएर खुशिका साथ जीवन बितेको थियो । घर देखि नजिकै खोला अनि जंगलहरु पनि थिए । बिहानीको किरणसँगै बिउँझिएर त्यो स्वच्छ वातावरणमा घरिघरि समायोजन हुन जान्थे मेरा पाइलाहरु । प्राकृतिक वातावरणमा रमाउन पाउँदा मेरो मनमा धेरै खुशीको स्पर्श हुन्थ्यो ।

समय परिवर्तनसंगै उमेरमा पनि केही परिवर्तन र केही माथिल्लो कक्षा प्रवेश सँगै मानसिकतामा पनि केही परिवर्तन हुँदै आउँदा सोच्न सक्ने क्षमता र जिज्ञासु स्वभावहरुको बिस्तारै विकास हुँदै थिए । सृजनात्मक क्रियाकलापमा बिस्तारै ध्यानाकर्षण हुँदै थियो । मनहरु चंचल हुँदै थिए । अरुलाई दुख कष्ट पर्दा सहानुभूतिको भावनाहरु जाग्थे । घर र परिवारको अवस्था बारेमा बुझ्ने, घरपरिवारमा भएको समस्याहरु औल्याउने शक्तिको बिस्तारै विकास हुँदै थियो । आत्मजागरण बढ्दै थियो भने घरको कामहरुमा पनि केही सहयोग गर्न सकिन्थ्यो । आफ्नो सरसफाई आफैले गर्न सक्थे ।

आफ्नो जीवनको लक्ष्य निर्धारण गर्ने क्षमताको विकास हुनुको साथै त्यो लक्ष्य पूरा गर्नको लागि केके मेहेनत गर्नुपर्ने हो भनेर पनि जानकारी थियो र त्यसै अनुसारको बाटो रोज्न अभिप्रेरित हुन्थे । उमेरको उतारचढावले गर्दा होला थोरै जिम्मेवारी पनि बढ्दै थियो ।

पढाईलाई पनि निरन्तरता दिन्थे अनि बिद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलाप सहभागी हुन्थे । शिक्षकवर्गहरुले धेरै माया गरेर ज्ञान आदानप्रदान गर्नुहुन्थ्यो । साथीहरूसँग मिलेर खेल्दा, घुम्दा रमाइलो महसुस हुन्थ्यो । कक्षामा साथीहरु मिलेर सामुहिक कार्यहरू गथ्यौँ । साथी–साथीहरुमा दुख पर्दा सहयोग गर्ने गथ्र्यौ । बिद्यालयमा हुने तीज गीत प्रतियोगिता, हाजिरी जवाफ, बक्तित्वकला, वादविवाद जस्ता क्रियाकलापहरुमा सधैं सहभागी जनाउने गथ्र्यौ । साथीहरुसँग भ्रमण गर्दा, लामो यात्राहरु गर्दा साह्रै रमाइलो लाग्थ्यो ।

सँगै पढ्ने साथीहरु मिलेर पढ्ने, एकअर्कामा प्रश्नउत्तर गर्ने र संवाद गर्ने गथ्र्यौ । यसरी पढ्दा ज्ञान बढ्ने र पढ्न सहज हुन्थ्यो । नयाँ साथीहरूसँग छिटो समायोजन हुने र साथीहरुसँग हरेक क्रियाकलाप गर्न मन लाग्थ्यो । हामी साथीहरू कहिल्यै पनि नछुटिने है भनी धेरै कुराहरु गथ्र्यौ ।

साथीहरूसँग प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न पाउँदा मन धेरै उत्साहित हुन्थ्यो । कुनै दिन सात जना साथीहरु नजिकैको जंगलमा प्रवेश गरेका थियौ । त्यो जंगलको हरियाली, त्यहाँ भएका बोटबिरुवाहरु, विभिन्न जातिका रुखहरु, पशुपंछी तथा चराचुरुङ्गीहरुको मीठो आवाज सुन्दा, सुसाउंदै हिडेका खोलाहरुको मनमोहक दृश्यले हामीहरुलाई भरिपुर्ण आनन्द दिएको थियो । कक्षा नौ मा पढ्दा बिद्यालयबाट पाँच दिनको लागि लामो यात्रा जुन नयाँ नयाँ ठाउँहरु अवलोकन लागि दार्जीलिङसम्म गएका थियौ । वर्णन गरेर नसक्ने अनगिन्ती आनन्द मिलेको थियो । त्यो हरियाली इलाम डाँडाको चियाबगान, त्यहाँबाट देखिने सुन्दर बिद्यालय, श्री अन्तुडाँडा, ताप्लेजुङको पाथीभरा देख्दा प्राकृतिक भण्डार भएको ठाउँमा आएको महसुस भएको थियो । प्राकृतिक सम्पदाहरुसँग नजिक हुन पाउँदा धेरै आनन्द लाग्थ्यो ।

यस्तै गरि रमाइलोको साथ एसएलसी पनि सकिएको थियो ।

समय परिवर्तनको क्रमसँगै क्याम्पस पढ्ने दिनहरु पनि आएको थियो । क्याम्पस पढ्ने समयमा त लगभग आधाआधी साथीहरू छोडिए । कोहिको बिवाह भयो भने कोहि अर्कै क्याम्पस पढ्न जाने जस्ता विभिन्न किसिमका कारणहरुले गर्दा धेरै साथिहरु अलगअलग भयौ । केही साथीहरु भने सँगै पढेका थियौ । कहिल्यै नछुट्ने भने तापनी समय र परिस्थितिको कारण छुट्नु पर्ने रहेछ । यसै गरी ं२ पनि सकिएको थियो ।

त्यसपछि म पशुपति र स्वयम्भूनाथ घुम्नको लागि भनेर काठमाडौ गएकी थिए । त्यहाँ दिदीहरु बस्नुहुन्थ्यो । दिदीहरुले यतै बसेर पढ भनेर उतै बस्न अनुरोध गर्नुभएको थियो र परिस्थितिले गर्दा पनि म ललितपुरमा बसे । त्यहाँ बसेर खाली समयभरी जागिर गरी बिहानको समय पढ्ने गर्थे । प्रायजसो म सँग पढ्ने धेरै जस्तो साथीहरु जागीर गरेर पढ्ने गर्थे । जिम्मेवारीहरु बढेको थियो । आफ्नो पढाईको लागि खर्च आफैले काम गरेर निकाल्थे । घरमा बस्दा र घरबाट टाढा हुँदाको फरक र अप्ठ्याराहरु महसुस गर्थे । धेरै जिम्मेवारिहरु आफ्नो काँधमा हुँदा बल्ल वास्तविक जीवन यस्तो रहेछ, यसरी अघि बढ्नुपर्ने रहेछ भनेर बुझिने रहेछ । मम्मिबुवाले बोक्नु भएको हरेक जिम्मेवारीहरुको तब मात्रै यथार्थ अनुभूती हुनेरहेछ ।

स्नातक पढ्दा मलाई धेरै चुनौतीहरु पनि सामना गर्नुपरेको थियो । घरबाट टाढा, मम्मिबुवाको प्यारो काखबाट टाढिदाको पीडा अनि त्यो नयाँ ठाउँमा समायोजनको लागि परि आएका कष्टहरु सबै चुनौतीपूर्ण थिए । भएतापनी त्यस्लाई जितेर र सामना गरेर आफ्नो पढाईको लागि तयारी भए । घरको अनि ती सँगै पढेका साथीसंगीहरुको धेरै नै याद आउन्थ्यो । स्नातक पढ्ने क्रममा पनि विभिन्न जिल्लाका धेरै साथिहरुसँग मिलेमतो भएको थियो । साह्रै फरासिला साथिहरु, सहयोगीपन भएका थिए ।

साथीहरुमध्ये पनि दुई तीन जना साथी अति नै मिल्ने खालका थिए । मेरो हर दुखमा साथ दिन्थे । मलाई लाग्थ्यो उनीहरु मेरै परिवारका सदस्यहरू हुन् । यसै गरी केही चुनौतीहरुको साथमा पनि खुशी हुँदै स्नातक तह पनि ललितपुरमा नै सकेकी थिए ।

साँच्ची नै बिद्यार्थी जीवन धेरै राम्रो र रमणीय हुने रहेछ । बिद्यार्थी जीवन त एउटा अवसरहरुको समय रहेछ । उज्ज्वल भविष्य निर्माण गर्न आफ्नो प्रतिभाहरुलाई बुझेर प्रस्फुटन गर्नका लागि मार्गनिर्देशन गर्ने महत्तपूर्ण पथ रहेछ । मैले बयान गरी नसक्ने अनगिन्ती पलहरु विद्यार्थी जीवनमा पाए । बिद्यार्थी जीवनको ती मिठा पलहरुबाट अहिले टाढा भएपनि मेरो मनमा चाहिँ ती पलहरु सदा सदाका निम्ति अविस्मरणीय हुनेछन् ।

प्रतिक्रिया दिनुहोस