२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्यूठानमा १० दिनमा पनि आएन पिसिआर रिपोर्ट



सलिम अन्सारी, प्यूठान ।
प्यूठानमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ । स्वाब संकलन गरी कोरोना परिक्षणका लागि प्रयोगशालामा पठाईएको दश दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो ।

भारत लगायतका विभिन्न ठाउँबाट प्यूठान भित्रिएका नागरिकलाई स्थानीय तहहरुले अनिबार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेका छन । १४ दिन क्वारेन्टाइनमा राख्ने र उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ ।

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि स्वाब सङकलन गरी पिसिआर विधिबाट परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले हालसम्म जिल्लामा पिसिआरबाट ९ सय २५ तथा आरडीटी प्रविधिबाट ५ हजार ६५२ जनाको परीक्षण गरिएको बताएको छ । जम्मा ३ सय ३६ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।

जिल्लाभर २२७ क्वारेन्टाईन स्थल छन् । हालसम्म ४ हजार ४१४ जना जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन् भने कोरोना संक्रमित २४ मध्ये २३ जना स्थानीय आइसोलेसनमा छन् । एक संक्रमित भने बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा उपचाररत छन । उनीहरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले बताएको हो ।

प्यूठानबाट पिसिआर रिपोर्टका लागि पठाईका ९ सय २५ मध्ये अझै ३६२ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले बताए ।

उनका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा २१४, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६८ जना, भेरी अंचल अस्पताल बाँकेमा ४१ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३९ जना गरी जम्मा ३ सय ६२ जनाको रिपोर्ट आउन बाँकी छ । भारतबाट आएका उनीहरुको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्न पठाईएको जानकारी दिए ।

‘उनीहरुको स्वाब पठाएको दस दिन भइसक्यो’ सुबेदिले भने, ’आरडीटीमा पोजिटिभ देखिएपछि स्वाब पठाएका हौं, अझै रिपोर्ट आएको छैन् ।’’

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरुको स्वाब संकलन गरी पठाईएको उनले बताए । रिपोर्ट नआएकोले उनीहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् ।’

पिसिआर रिपोर्ट पर्खेर बसेका उनीहरुलाई अहिले क्वारेन्टाइनमै स्वास्थ्य शिक्षा र मनोपरामर्श दिन थालिएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ५७ बजे