२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

सरकारको नयाँ मापदण्डः कपिलवस्तुमा लक डाउन थप कडा हुन सक्छ !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा फेरि लक डाउन कडा हुन सक्ने देखिएको छ । सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएपछि कपिलवस्तुमा फेरि लक डाउन कडा हुन सक्ने अनुमान गरिएको छ ।

लक डाउन खुकुलो भएको अवस्थामा लापरबाही बढ्ने र संक्रमितहरु बढ्ने अवस्था देखिएमा जिल्लामा लक डाउन थप लम्बिने र कडा हुने जनाइएको छ ।

गृहमन्त्रालयबाटै दुई सय बढी संक्रमित भएका जिल्लामा लकडाउनको घोषणा हुन सक्ने छ । कपिलवस्तुमा अहिलेसम्म ६ सयको आसपासमा कोरोना संक्रमित रहेका छन् । कपिलवस्तु मुलुककै सबैभन्दा बढी संक्रमण फैलिएको जिल्ला हो । कुनै प्रदेशको जम्मा संक्रमितको संख्या भन्दा यहाँ तेब्बर संक्रमित पनि छन । संक्रमित संख्या बढेको बढै, लकडाउन भने खुकुलो भएको भईको अवस्थाले जनता भने थप त्रासमा रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको हो । दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने भन्दै मन्त्रालयले ५१ जनादेखि दुई सय संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न पाइनेछ ।

५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने अरु मापदण्ड तोकेको हो । जिल्लाको वर्गिकरणका क्रममा स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड केन्द्र’को सिफारिस अनिवार्य गरिएको छ ।

लकडाउनलाई केही खुकुलो बनाएको सरकारले जारी गरेको नयाँ मापदण्डमा जुनसुकै ठाँउमा पनि तीनवटा सर्त अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मन्त्रालयले ‘अत्यावश्यकीय’ भनी वर्गीकरण गरिएका सर्तमा सबै किसिमको जमघट र भेटघाटमा २ मिटर(६फिट)को दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

घर बाहिर निस्कदा मास्क प्रयोग अनिवार्य गरिएको छ । उक्त मास्क सर्जिकल वा ३ तहको कपडाको हुनुपर्नेछ । अनि सबै सार्वजनिक स्थान अनि कार्यालयमा आफ्नो परिसरमा हात धुने साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्नेछ । र त्यहाँ प्रवेश गर्नेहरुले हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्नुपर्नेछ ।

सरकारले अनिवार्य पालना गर्नुपर्ने भनी सर्तहरु पनि तोकेको छ । जस अनुसार अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) नछुने भनिएको छ भने खोक्दा वा हाछ्यु गर्दा सुरक्षित हुनुपर्नेछ ।

सार्वजनिक थलोमा नथुक्ने भनी सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्ने नीति छ । ज्वरो, खोकी अनि स्वासप्रश्वासको समस्या आउनेहरु सकेसम्म जनसम्पर्कमा नआउने भनिएको छ ।

मापदण्डमा केही संस्थागत सर्तहरु पनि छन् । अफिस आउनेहरुलाई शुरुमा थर्मामिटरबाट परीक्षण गर्ने अनि १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा काममा नलगाउने भनिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : ५९ बजे