काठमाडौं ।
प्रतिनिधि सभाबाट शनिबार (आज) नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको बैठक शनिबार १ बजेका लागि डाकिएको छ । सरकारले नेपालको वास्तविक भू भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो ।
सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए । त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन् । गिरीलाई समाजवादी पार्टीका प्रमुख सचेतकले संशोधन फिर्ता लिन निर्देशन दिएका छन्। तर उनले आफ्नो संशोधन फिर्ता लिएकी छैनन् ।
संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन् । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ ।
संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ । विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।







प्रतिक्रिया