२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

अर्घाखाँचीमा भएन आइसोलेसन निर्माण, आफैले गरेका निर्णय स्थानीय तहले कार्यान्वयन गरेनन्



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीका स्थानीय तहमा आइसोलेसन निर्माण गर्ने निर्णय भएपनि कार्यन्वयनमा जोड नदिदा थप संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको छ । जिल्लामा कोरोनाका बिरामी बढे तर स्थानीय तहमा थप आइसोलेसन निर्माण हुन सकेको छैन् ।

जिल्लाको सन्धिखर्क हटारीमा निर्माण गरिएको ४० बेड क्षमताको आइसोलेसन भरिन थालेपछि थप भएका वा हुने संक्रमितहरूलाई व्यवस्थापन गर्ने बिषयमा अन्यौलता देखिएको छ ।

चिकित्सक भएका पालिका वा नभएका पालिकामा पनि चिकित्सक खटाउने गरी जिल्लाका ६ ओटै स्थानीय तहमा कम्तिमा २५ बेडको आइसोलेसन निर्माण गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेपनि पालिकाहरूले आइसोलेसन निर्माण गर्ने बिषयमा चासो दिएका छैनन् ।

सन्धिखर्क, शीतगंगा, भूमिकास्थान नगरपालिका, छत्रदेव, मालारानी र पाणिनी गाउँपालिकाले आ–आफ्नो पालिकामा आइसोलेसन तयार गर्ने बिषयमा सहमती जनाए पनि निर्णय कार्यान्वयनमा बेवास्ता गरेका छन् । पालिकाहरूमा पूर्व तयारी हुन सकेको छैन् । कोरोना संक्रमितको गति तिव्र रूपमा बढ्न थालेपछि व्यवस्थापनको लागि थप आइसोलेसनको पालिकाले पूर्व तयारी गर्न नसक्दा जिल्लामा संक्रमितको जोखिम बढ्न सक्ने निश्चित छ ।

शुक्रबार जिल्लाको शीतगंगा-१ महेन्द्र आधारभुत बिद्यालयमा क्वारेनटाइनमा बसेका १९ बर्षीय पुरूषमा कोरोना पुष्टि भयो । तर, पुष्टि भएका संक्रमितलाई सदरमुकाम तान्न पनि नसकिने अवस्था थियो । सदरमुकामको एक मात्र हटारीको आइसोलेसनका बेड भरिएपछि जिल्ला प्रशासनले नगरपालिकामै आईसोलेसन निर्माण गरेर संक्रमितको व्यवस्थापन गर्न सुझाएको थियो तर शीतगंगामा आइसोलेसन निर्माण नभएपछि संक्रमितलाई जिल्ला पठाउछौं भने पछि एकखालको टकराव देखियो । जिल्लाले पालिकामा व्यवस्थापन गर भनेर सुझाउने तर शीतगंगा नगरपालिकाले जिल्ला पठाउछौं भन्ने कुरामा टकराव देखिएपछि संक्रमित जहाँ पहिला क्वारेन्टाइनमा बसेका थिए, अहिले पनि त्यहि बसिरहेका छन् ।

संक्रमितलाई आइसोलेसन बनाएर सुरक्षित स्थानमा सार्ने प्रक्रिया अगाडि बढ्न सकेको छैन । संक्रमितसंगै यस अघि २८ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । जनताको जीउज्यान स्वास्थ्य समस्या प्रति किन स्थानीय तह संबेदनशिल बन्न सकेका छैनन्, आफैमा एकखालको प्रश्न उब्जिएको छ । किन स्थानीय तहले पूर्व तयारी गर्न सक्दैनन् वा स्थानीय तहले आफै आइसोलेसन बनाउन चाहदैनन् यो आफैमा गम्भीर बिषय बनेको छ । तर, नागरिकले चुनेर पठाएका जनप्रतिनिधि नागरिक प्रति जवाफदेही हुनै पर्छ । नागरिकको स्वास्थ्य समस्या प्रति खेलवाड होईन जिम्मेवारी बन्नै पर्छ । शीतगंगाको संक्रमितलाई सामान्य स्कुलको कोठामा राखिएको छ । यसले गाँउमा संक्रमितको जोखिम बढ्ने त्रास देखिएको छ ।

कोरोना पोजेटिभ पुष्टि भएपछि शिल गरी सम्भावित जोखिम ब्यवस्थापन गर्नु पर्नेमा ध्यान पुग्न सकेको छैन् । केही दिन अघि जिल्ला बिपत ब्यवस्थापन समितिको बैठकमा कोरोना संक्रमितलाई स्थानीय तहमै ब्यवस्थापन गर्ने भनि निणर्य समेत भएको प्रमुख जिल्ला अधिकारी बिजयराज अधिकारीले बताए । प्रजिअ पौडेलले भने, ‘हामीले पालीकामै आइसोलेसन निर्माण गरेर देखिएका संक्रमितलाई त्यहि व्यवस्थापन गर्न भनेका छौं, त्यसकारण शीतगंगा १ का संक्रमितलाई जिल्ला ल्याएका होइनौं ।’

बढ्दो संक्रमितको चाँपलाई जिल्लामा रहेको आइसोलेसनले धान्न नसक्ने भन्दै प्रजिअ पौडेलले भने आइसोलेसन निर्माण गर्न नमान्ने, अटेरी गर्ने, हेलच्क्राई गर्ने पालिकाहरूलाई आइसोलेसन तयार गर्न थप दवाव र सुझाव दिन्छौं । प्रत्येक पालिकामा आइसोलेसन नबनाई सुखै छैन्, हामीले निर्णय भैसकेको कुरालाई कार्यान्वयन गर्न जोड दिन्छौ प्रजिअ पौडेलले बताए । शीतगंगा नगरपालिकाले आइसोलेसनको पुर्व तयारी गर्न नसक्दा कोरोना संक्रमित र भारत तथा अन्य स्थानबाट आएकाहरुलाई एकै ठाउँ क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आएको छ ।

शीतगंगा नगरपालिकामा ३ जना पुरूषमा कोरोना पुष्टि भएको छ । ती मध्ये २ जना सन्धिखर्क हटारीको आइसोलेसनमा छन् भने शुक्रबार पुष्टि भएका १ जना संक्रमित अहिलेसम्म शीतगंगा-१ को महेन्द्र आधारभुत बिद्यालयको क्वारेन्टाइनमा छन् ।

जिल्लामा अहिलेसम्म १३ सय ६८जनाको पिसिआर स्वाब नमुना संकलन गरिएको छ । जसमध्ये २७५ जनाको रिपोर्ट नेगेटिभ र ३८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए । जिल्लामा अहिलेसम्म १ हजार ५५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । सबै स्थानीय तहमा पिसिआर स्वाबको नमुना संकलन संख्या बढिरहेको छ ।

जिल्लाबाट पठाएका पिसिआर रिपोर्ट आउँन धेरै जनाको बाँकी रहेकाले संक्रमितको संख्या बढ्ने निश्चित छ । अवका दिनमा जिल्लामा एकैपटक धेरै संख्यामा कोरोना पुष्टि भयो भने बिरामीलाई राख्ने थप आइसोलेसन निर्माण भएको छैन ।

भोलि आउने दिनमा देखिएका समस्यालाई कसरी समाधान गर्ने बिषयमा सबै पालिकाको ध्यान त्यता पट्टी जान आवश्यक छ । जिल्लाका सबै पालिकामा कम्तिमा २५ शैयाको आइसोलेसनको पूर्वतयारी हुन जरूरी देखिन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ५१ बजे