२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँचीमा १७ बर्षीया गर्भवती युवतीमा कोरोना संक्रमण



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा १७ बर्षीया गर्भवती युवतीमा कोरोना पुष्टि भएको छ । जिल्लाको पाणिनी गाउँपालिका– ८ पाली बलेघाँटकी १७ बर्षीया गर्भवती युवतीमा कोरोना संक्रमणको पुष्टि भएको पाली स्वास्थ्य चौकीका ईन्चार्ज राम प्रसाद घिमिरेले बताए ।

उनी जेठ १० गते भारतको हरियाणाबाट परिवार सहित आएकी थिईन् । उनी पाणिनी गाउँपालिका–८ पालीमा रहेको अर्बोका आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेकी छिन् । ती युवतीको पेटमा करिब ३ महिनाको गर्भ रहेको उनका श्रीमान लोक बहादुर कुमालले बताए । भारत बस्दा नै श्रीमतीको स्वास्थ्य जाँच गर्दा गर्भवती भएको रिपोर्ट आएको उनका श्रीमान कुमालले बताए ।

संखुवासभा जिल्ला तुम्लिङटार माईतीघर भएकी वैवाहिक बन्धनमा बाँधिएकी ती युवती भारतको हरियाणमा श्रीमानसंगै बस्दै आएकी थिईन् । उनको जेठ २३ गते आरडिटी परिक्षणमा पोजेटिभ देखिए पछि स्वाब संकलन गरी परिक्षणका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाबको नमुना पठाईएको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

संक्रमित १७ बर्षीय गर्भवती महिलालाई अहिले पनि गाँउकै क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा श्रीमान, श्रीमतीलाई छुट्टाछुट्टै कोठामा राखिएको छ । उनका श्रीमानको पिसीआर परिक्षणको लागि मंगलबार स्वाब नमुना निकालेर पठाईने पाणिनी गाँउपालीकाका स्वास्थ्य प्रमुख शेषकान्त पोखरेलले बताए ।

पालिकामा चिकित्सकसहितका ल्याव प्राविधिक स्वास्थ्यकर्मीको अभाव भएकाले पालिकामा आइसोलेसन निर्माण गरी संक्रमित बिरामीको उपचार गर्न समस्या भएकाले १७ बर्षीया संक्रमित महिलालाई सदरमुकाम सन्धिखर्क आइसोलेसनमा लैजाने बिषयमा कुराकानी भइरहेको स्वास्थ्य प्रमुख पोखरेलले बताए । पाणिनी गाउँपालिकामा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित ३ जनालाई यस अघि नै सन्धिखर्क हटारीको आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ९ : ५४ बजे