विष्णु कुमार आले, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाको कर्मचारी होम क्वारेन्टाइनमा बसेको आठ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट नआएपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा कोरोना पुष्टी भएको छ । जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि नगरपालिकाले पछिल्लो १० दिनभित्र कार्यालय आएर नियमित काम गरेका सबै कर्मचारीहरू उच्च जोखिममा रहेको भन्दै होम क्वारेन्टाइनमा राखेको छ ।
जेठ २७ गते जनप्रतिनिधिसहित कर्मचारीको स्वाब संकलन गरी परिक्षणका लागि भरतपुर पशुपन्छी कार्यालयस्थित ल्याबमा पठाएको थियो । तर रिपोर्ट नआएपछि सबै कर्मचारी होम क्वारेन्टाइनमै बसिरहेका छन् । पीसीआर रिपोर्ट आएपछि मात्र कार्यालयको काम अघि बढाउने, नबढाउनेबारे निर्णय हुने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
सबै कर्मचारी क्वारेन्टाइनमा बसेपछि कार्यालयको कामकाज आठ दिनदेखि ठप्प भएको छ । असारभित्र सक्नुपर्ने विकास आयोजनाको रकम फरफारक र भुक्तानी लगायतका काम पनि रोकिएको छ ।
प्रशासकीय अधिकृत ज्ञवालीका अनुसार यो आर्थिक वर्षमा विभिन्न श्रोतबाट आउनुपर्ने अनुदान रकममध्ये ६ करोड रुपैयाँ रकम नआएपछि नगरभित्र गर्नपर्न विकासका काम सकिने अवस्था पनि छैन् । सोमबार पुष्टी भएका ३१ जनामध्ये सन्धिखर्क नगरपालिकाका उपमेयर, सन्धिखर्क ६ का १३ जना र ७ का १५ जना रहेका छन् ।







प्रतिक्रिया