२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

दाङमा स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोना पुष्टि



दाङ ।
दाङमा बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। घोराहीमा १ जना, तुलसीपुरमा २ जना र शान्तिनगरमा १ जनामा राप्ती स्वास्थ्य प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएको हो। तीमध्ये घोराहीका कोरोना संक्रमित स्वास्थ्यकर्मी हुन्। घोराही उपमहानगरपालिका २ को सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र रामपुरमा कार्यरत घोराही १० का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए।

केही दिनअघि उक्त केन्द्रमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको भनी स्वाब जाँच गर्दा रिपोर्ट नेगेटिभ देखिएको थियो। तर उनलाई थप शंका लागेपछि नारायणपुर स्थित आइसोलेसनमा बसेका थिए। तर बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको हो।

उनीसँगै अन्य ४ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ। योसँगै घोराही उपमहानगरपालिकाका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। ३ पुरुष र २ महिला अहिले नारायणपुर आइसोलेसनमा भर्ना भएका छन्। उपमहानगरका रामपुर सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, वडा नम्बर ४ को स्वास्थ्य चौकी लक्ष्मीपुर र वडा नम्बर ३ को कार्यालय सिल गरिएको छ।

दाङमा योसँगै स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या ८ पुगेको छ, भने २ जना निको भएर घर फर्केको चन्दले बताए। दाङमा हालसम्म २ सय ५६ जनामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म ३० जना निको भएर घर गएका जिल्ला उनले बताए। दाङमा करिब ३५ सय स्वाब परीक्षण क्रममा रहेको समेत उनले बताए। त्यसैगरी दाङमा २ वटा मेसिनबाट कोरोना परीक्षण सुरु भएको छ। कोरोना परीक्षण गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ वटा मेसिन भएपछि परीक्षणको दायरा बढेको छ। अब एकैदिनमा १ हजार बढीको कोरोना परीक्षण गर्न सकिने प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले जानकारी दिइन्।

यसअघि १ वटा मात्रै मेसिन हुँदा दैनिक २ सयदेखि २५० जनाको मात्रै स्वाब परीक्षण हुने गरेको थियो। दाङमा वैशाखको १२ गतेदेखि प्रतिष्ठानमा कोरोना परीक्षण सुरु भएको हो। जिल्लामा कोरोना परीक्षण सुस्त गतिमा भइरहेको गुनासो आइरहेको समयमा प्रतिष्ठानले एकै पटक ठूलो संख्यामा परीक्षणको दायरा बढाएको छ।

प्रतिष्ठानमा दाङसहित सल्यान, रोल्पा, प्युठान, बाँके, कपिलवस्तु, नवलपरासी पश्चिम लगायतका जिल्लाको स्वाब परीक्षण हुने गरेको छ। प्रतिष्ठानमा ५ हजार बढी स्वाब परीक्षण क्रममा छन्। देशभरिमै कोरोना परीक्षण गर्नेमा दाङ अग्रपंक्तिमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अहिले काठमाडौं र जुम्लापछि दाङको प्रतिष्ठानमा धेरै संख्यामा कोरोना परीक्षण हुनेमा चौथो स्थानमा छ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ८ : ३३ बजे