४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्घाखाँचीमा पुग्यो सलह किरा, नियन्त्रणको उपाय खोजिँदै



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा पनि सलह किरा देखिएको छ । सोमबार दिउँसो अर्घाखाँचीको चार ओटा पालिकाको बिभिन्न क्षेत्रमा सलह किरा देखिएको हो ।

शीतगंगाको ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सितापुर, झिर्रा, मन्द्रे सुवर्णखाल, सिद्धारा लगायतका क्षेत्रमा सलह देखिएपछि स्थानीयले धुवा तथा थाल पिटेर सलहलाई थपाएका हुन् ।

अर्घाखाँचीको आकाशमा लाखौंको संख्यामा सलह देखिएको र किसानको खेतीमा पनि क्षेति गरेको छ ।

त्यस्तै भूमिकास्थान नगरपालिकाको धनचौर, ढिकुरा, ढाकावाङ, नुवाकोट लयायतका ठाउँमा सलह किरा देखिएको हो । पाणिनी र मालारानी गाउँपालिकाको बिभिन्न क्षेत्रमा पनि सलह किरा आएर तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।

शीतगंगाको सिमलपानीमा ठुलो संख्यामा सलह प्रबेश गरेपछि तीन रोपनीमा लगाएको तरकारी खेतिमा क्षेति पुराएको किसान कबिराम भाटले बताए । उनले भने, ‘जुन बिरूवा कलिलो छ त्यहि बिरूवा खान सलहले जोड गर्दो रहेछ । ’

हजारौंको संख्यामा सलह आएर बस्यो, बिभिन्न उपाय गरेर धपाउने प्रयास गर्दा पनि तरकारीमा नोक्सान पुराएको छ, भाटले भने ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए ।

के हुन सक्छ सलह नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । ५० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय खोज्न नसकेको जानकारहरू बताउँछन् ।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल, जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो ।

विज्ञका अनुसार विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको र मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने उनीहरू बताउँछन् ।

यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाएर सावधानी अपनाउन आवश्यक छ । अर्घाखाँची जिल्लाबाट पश्चिम दाङ देउखुरी प्युठान, रोल्पा तर्फ सलह किरा उडेर गएको छ । किसानलाई सलहले गर्ने क्षेति बाट बच्न सचेत र चनाखो भएर बस्न नदिन बिभिन्न उपाए अपनाउन बिज्ञले सुझाव दिएका छन् । साथै किसानलाई नआत्तिन पनि उनीहरूले सुझाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ६ : २१ बजे