१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

विप्लवका दाजु अदालत परिसरबाटै पुनः पक्राउ



दाङ ।
नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले सोमबार घोराहीस्थित जिल्ला अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ । धरौटी बुझाएर अदालतबाट निस्कँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतले गत पुस ७ मा चन्दसहित प्रतिबन्धित नेकपाका २१ नेताहरुलाई प्रतिव्यक्ति १५ हजार धरौटी बुझाएर छोड्न आदेश दिएको थियो । त्यतिबेला अदालतबाहिर व्यापक प्रहरी तैनाथ गरिएकाले फेरि पक्राउ पर्ने आशंकाले उनीहरु धरौटी नबुझाएर कारागार गएका थिए ।

सोमबार धरौटी बुझाएर अदालतले छोडेपछि उनलाई पुनः पक्राउ गरी अर्को मुद्दा चलाउन काभ्रे जिल्ला लगिएको छ । ५९ वर्षीय चन्दको घर शिवराज नगरपालिका ८ कपिलवस्तु हो ।

प्रहरीले गत असोज ३० मा दाङको राजपुर गाउँपालिका ४ मगराइनास्थित जंगलमा बैठकस्थल नियन्त्रणमा लिई मध्यपश्चिम कमाण्ड इन्चार्ज रहेका चन्दसहित २१ नेताहरुलाई पक्राउ गरेको थियो । स्थानीय ज्ञानेन्द्रविक्रम रानाको घरमा मध्य कमाण्डको बैठक बसेर सुतिरहेको बेला राति १ बजे प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरेको थियो ।

अदालत परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै चन्दले सरकारले आफैले बनाएका नियम कानुन मिचिरहेको बताए ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : ३५ बजे