२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

क्वरेण्टीनबाट घर फर्किएका पुरुषमा कोरोना सङ्क्रमण



गुल्मी ।
गुल्मीमा क्वरेण्टीनमा बसेर घर फर्किएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चन्द्रकोट गाउँपालिका–१ सराङ्का ५२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले बताउनुभएको छ ।

गएको जेठ ११ गते भारतबाट आएर स्थानीय शारदा माध्यमिक विद्यालयमा क्वरेण्टीनमा बस्दै आएका ती पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उहाँको स्वाब निकालेर पीसीआर परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।

स्वाब रिपोर्ट आउन ढिला भएको भन्दै एक महिना क्वरेण्टीनमा राखेर असार १५ गते उहाँलाई घर पठाइएको थियो । घर फर्केको दुई दिनपछि मात्र उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

एक महिनासम्म क्वरेण्टीमा बसेका व्यक्तिलाई लामो समयसम्म त्यहीँ राखिरहँदा व्यक्तिमा मानसिक तनाव आउन सक्ने भन्दै रिपोर्ट आउन ढिला भएपछि संघीय सरकारले बनाएको नीतिगत मापदण्ड अनुसार उहाँलाई घर पठाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्रीले बताउनुभयो ।

उहाँलाई कुनै पनि किसिमको लक्षण नदेखिएको, उहाँको अवस्था सामान्य रहेको र घरमै सुरक्षित बसेको हुँदा समुदायमा त्रसित हुनुपर्ने अवस्था नरहेको अध्यक्ष खत्रीको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ३ : ०९ बजे