३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

बाँकेमा पुनः लकडाउन, शनिबार रातिदेखि लागू हुने



बाँके ।
बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्ने भएको छ । सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिबार राति १२ बजेदेखि मंगलवार बेलुकीसम्म लकडाउन गर्ने निर्णय भएको उपाध्यायले बताए । उनले त्यसपछिको परिस्थिति हेरेर फेरि लकडाउन गर्न सकिने बताए ।

शनिबार राति लागू हुने लकडाउन पहिलेको जस्तो खुकुलो नहुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनले भने, ‘शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुन्छ । लकडाउनको उलंघन गर्नेलाई कडा कारवाही हुन्छ,’ उनले भने । उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए ।

शुरुमा चार दिनका लागि लकडाउन हुन्छ । त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा बिहीबारसम्म ११, यातायात कार्यालयका एक, त्रिभुवन चोकस्थित मिठाई पसलका एक र उनको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १६ जनामा कोरोना देखिएपछि लकडाउन गर्न बाध्य भएको प्रजिअ कुरुम्बाङले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ५ : २९ बजे