१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

आन्तरिक राजस्व कार्यालय नै बन्यो आइसोलेसन सेन्टर



नेपालगन्ज ।
आन्तरिक राजस्व कार्यालयका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोना देखिएका निजामति कर्मचारीलाई राख्नका लागि आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोगमा ल्याइएको बताए । उनका अनुसार अहिले सो आइसोलेसनमा १२ जनालाई राखिएको छ ।
आन्तरिक राजस्वका अधिकृतहरुसहित त्यहीँ बस्ने १२ जनामा कोरोना देखिएको छ । कार्यालय बन्द रहेकाले त्यहाँका कर्मचारीहरुलाई त्यहीँ राखिएको हो ।

आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेका छन् ।

यसअघि बन्द गरिएको आइसोलेसन सेन्टर पुनः सञ्चालन उनीहरुलाई राखिएको छ । लायन्स डेन्टल अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ । आदर्शनगर र खजुराको आइसोलेसन सेन्टर सञ्चालनमै रहेका छन् । बाँकेमा आइसोलेसनमा रहेका संक्रमितको संख्या ५४ पुगेको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि ३ दिनसम्मका लागि जिल्लाभर पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।

समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो ।

गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ०० बजे