१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा अहिलेलाई बजार बन्द छैन्, दुई तीन दिनमा के हुन्छ भन्न सकिन्नः सिडिओ



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै कपिलवस्तुमा शुक्रबार विहानदेखि गरिएको आंशिक लकडाउनमा पसल, व्यवसाय भने सञ्चालन हुन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहीबार सूचना जारी गर्दै जिल्लामा अत्यावश्कीय सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक सवारी साधन पूर्णतया बन्द भएको जनाएको छ ।

शुक्रबार विहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्मका लागि यो निर्णय लागू हुने प्रशासनले जनाएको छ । शुक्रबार विहान रेडियो मायादेवीसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बजारहरु भने पूर्णरुपमा खुल्ला हुने स्पष्ट पार्नुभयो । यद्यपि उहाँले नेपाल सरकारले पसल, व्यवासायी सञ्चालन गर्दा अपनाउने नियम भने अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पसल सञ्चालन गर्दा भीँडभाड हुन नदिने, अनिवार्य सेनेटाइजरको प्रयोग गर्ने र माक्स प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै उहाँले होटल तथा रेष्टुरेन्ट भने सञ्चालन गर्न नपाइने पनि बताउनुभएको छ । सरकारले अझै होटल तथा रेष्टुरेन्ट खोल्न नभनेको भन्दै जिल्लामा त्यो नियम लागू भएको दाबी गर्नुभयो ।

जिल्लामा कोरोना संक्रमणको दायरा बढ्न थालेको भन्दै उहाँले सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो । स्थिती जटिल बन्ने अवस्थामा रहेको तर्फ इंकित गर्दै उहाँले आगामी दिनमा स्थिती झन विकराल हुँदै गए पसल, व्यवसाय बन्न गर्नुपर्ने स्थिती आउन सक्ने बताउनुभयो ।

जिल्लामा सरकारी कार्यालय तर्फ मालपोत, प्रशासन, राजश्व, विद्युत लगायतका कार्यालयका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ०७ बजे