७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

२० वर्ष सजाय तोकिएका व्यक्ति २२ वर्षपछि पक्राउ



दाङ ।

सल्यानमा कर्तव्य ज्यान मुद्दामा अदालतद्धारा २० वर्ष कारावासको सजाय तोकिएका एक फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको साविक निगालचुला गाविस वडा नं. २ निवासी हाल ६६ वर्षीय ईन्द्रे कामी बिक्रम संवत २०५५ साल कात्तिक ५ गते दिउँसो स्थानीय २३ वर्षीय मनबहादुर कामीको बञ्चरो प्रहार गरि हत्या गरेका थिए ।

तिहारको भाइटिकाको दिन मदिरा सेवन पछि भएको सामान्य विवादको क्रममा कामीले विकलाई बञ्चरो प्रहार गरि हत्या गरेर रातिको समयमा जंगलमा लगेर शव गाडेका थिए ।

स्थानीय नरसिंह कामीको घरदेखि अन्दाजी ३० मिनेट टाढा पर्ने सेवरखोली भन्ने जंगलमा कामीले विकको शव गाडेको अवस्थामा फेला परेको थियो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानले कामीलाई २० वर्षको जेल सजायको फैसला सुनाएको भएपनि उनी फरार रहँदै आएका थिए ।

जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले कामी हाल सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. १ स्थित आफ्नै घरमा लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाका आधारमा आइतवार प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए ।

डिएसपी खतिवडाले पक्राउ परेका कामीलाई सम्मानित अदालतले तोकेको सजाय भुक्तानका लागि सोमबार नै अदालत समक्ष पेश गरेपछि आदेशले जेल चलान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १२ : ३९ बजे