११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

तानसेनमा मनाइने भगवती जात्रामा यस वर्ष क्षमा पूजा मात्रै हुने



पाल्पा ।

पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस वर्ष क्षमा पूजा मात्रै हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण आज परेको जात्रालाई औपचारिकता मात्रै दिइने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

हिजो गरिने जाग्रामलाई समेत सीमीत गरिएको थियो । सरकारले जारी गरेको निर्देशनलाई पालना गर्दै नेपाली सेना, गुठियार समिति र सरकारी प्रतिनिधिले पूजा गरेपछि आज दिउँसो १२ बजे रथलाई मन्दिर परिसरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने समितिले जनाएको छ ।

२ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको विजयोत्सवमा यस वर्ष बलिसमेत नचढाइने भएको छ । यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।

अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा यो जात्रा मनाउने गरिन्छ । जात्राको अवसरमा प्रदेश ५ सरकारले पाल्पामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ११ : ४१ बजे