१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कोरोना संक्रमित नबोक्ने एम्बुलेन्स कारवाहीमा



बुटवल ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमित बिरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही प्रक्रिया सुरु गरेको छ । सेवाग्राहीले बोलाएको ठाउँमा नजाने र संक्रमित बिरामी हो भन्ने थाहा पाएपछि अन्य बहाना बनाएर बिरामी नबोक्ने एम्बुलेन्सलाई कारबाही थालेको हो ।

प्रदेशको स्वास्थ्य विकास निर्देशनालयमार्फत सोमबार जिल्ला प्रशाशन कार्यालयलाई पत्र लेख्दै ३ वटा एम्बुलेन्सलाई कारबाही गर्न निर्देशन दिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । पर्रोहा स्वास्थ्य चौकी रुपन्देहीले सञ्चालन गरेको लु १ झ २८१, युवा क्लब तिलोत्तमाको लु २ च ६१८० र ध्रुवतारा युवा क्लबले सञ्चालन गरेको लु २ च ६१२७ नम्बरका एम्बुलेन्सलले बिरामी बोक्न नमानेका हुन् ।

यी एम्बुलेन्सले बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका नेपालगन्जका बिरामीलाई लैजान नमानेपछि निर्देशनालयले कारबाही प्रक्रियामा लगेको हो । निर्देशनालयले सेवाग्राहीको गुनासोका आधारमा बिरामी बोक्न नमान्ने अन्य १२ एम्बुलेन्सलाई मौखिक रुपमा सचेत गराएको छ । स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउँदा पनि कोभिड–१९ का बिरामी बोक्न नमान्ने जो कोही एम्बुलेन्सलाई कारबाही प्रक्रिया थाल्ने मन्त्री बरालको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ६ : ५५ बजे