मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ मा विहीबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । कपिलवस्तु, रुपन्देही र बाँकेका एक, एक संक्रमितको कोरोनाबाट ज्यान गएको हो । यस्तै अर्घाखाँचीका एक जनाको पनि ललितपुरमा मृत्यु भएको छ ।
विहीबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचारार्थ कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको विहीबार विहान मृत्यु भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
उनको उपचारको क्रममा गत भदौ ५ गते कोरोना संक्रमणको पुष्टी भएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि ६ गतेदेखि उनलाई बुटवल कोरोना अस्तालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको विरामी रहेका थिए । यो संख्यासंगै कपिलवस्तुमा कोरोनाका कारण मृत्यु हुनेको संख्य ३ पुगेको छ ।
यता लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की एकजना संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार जारी थियो। घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो ।
उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातीदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार पनि थप प्लाज्मा दिने तयारी थियो । संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको थियो ।
उता बिहीबार बाँकेमा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ निवासी ७० वर्षीया वृद्धाको कोहलपुर मेडिकल कलेजमा बिहीबार बिहान ११ बजेर ५० मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकको फोक्सोमा निमोनिया भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन नै कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब झिकिएको थियो । उनको भदौ ५ गते रिपोर्ट पोजिटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचाररत् ती महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भदौ ६ गते राति १० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरसहितको उपचार सेवाको लागि उनलाई सारिएको थियो। योसँगै बाँकेमा ६ जना संक्रमितको मृत्यु भएको छ ।
यसैबिच किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए । मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए । उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो ।
उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो । त्यसपछि हामीले आइसियूमै राखेर उपचार गर्यौं । ९ गते पिसिआरको नतिजा आउँदा उहाँमा कोरोना पोजेटिभ देखियो, पाठकले भने । उनले मृतकको शब अस्पतालमै राखिएको र व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गर्ने काम भइरहेको जनाए ।







प्रतिक्रिया