४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बलात्कारको अभियोगमा पुजारी पक्राउ



बाँके ।

बाँकेको डुडुवा गाउँपालिका ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर पुजारी बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा ३ महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार यही १० भदौ राति नेपालगञ्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीया २ महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही ११ भदौ बेलुका पक्राउ गरिएको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीया साइलाई पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ५ : ४० बजे