२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

प्रदेश ५ मा १ सय ५० जना कोरोनाका विरामी भेटिए



बुटवल ।
प्रदेश ५ मा आइतबार पछिल्लो २४ घण्टामा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै रुपन्देहीका ६१, कपिलवस्तुका २९, नवलपरासीका २१, बाँकेका १४, पाल्पा, गुल्मी र बर्दियामा ६/६, प्युठान र दाङका ५/५ जना, अर्घाखाँचीका ३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसीयूमा उपचार भैरहेको छ । प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालमा १६ जना र दाङको राप्ती प्रादेशिक अस्पतालको बेलझुण्डीस्थित अस्पतालमा १ जनाको आइसीयूमा उपचार भैरहेको हो । यस्तै २ जनाको गम्भीर अवस्थामा बुटवलकै कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचारी जारी छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक अपडेटमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले दिएको जानकारी अनुसार प्रदेश ५ मा १ हजार ४१७ जना संक्रमित आइसोलेशन र अस्पतालहरुमा उपचाररत रहेका छन् ।

तीमध्ये १३७ आइसोलेशनमा १ हजार १९३ जना रहेका छन् भने १०८ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको उनले बताए ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मात्र ७ जना बिरामीको मृत्यु भइसकेको छ । शिक्षण अस्पताल नेपालगन्जमा एक जना र क्वारेन्टाइनमा एकजना गरेर बाकेमा मात्रै ९ जनाको मृत्यु भएको । मृत्यु भएका ९ जनामध्ये बाँके जिल्लाका मात्रै ६ जना छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए । अस्पतालमा भर्ना भएको २ देखि ७ दिनको अवधिमा मृत्यु संक्रमितहरुको मृत्यु भएको थियो ।

प्रदेश ५ मा ११० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । प्रदेश ५ मा परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको दर ६ प्रतिशत र निको हुने दर ७७ प्रतिशत रहेको र मृत्युदर ०.४५ प्रतिशत रहेको उनले बताए ।

प्रदेश ५ मा आइतबारसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ८३८ जना निको भएर घर फर्किएका छन् । आइतबार दिउँसोसम्म प्रदेश ५ मा ४८ जना संक्रमित थपिएको पौडेलले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ९ : ५२ बजे