४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भालुवाङमा राजधानी बनाउने निर्णय कांग्रेसद्धारा स्वागत



दाङ ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङको देउखुरी क्षेत्रलाई राजधानी बनाउने निर्णय न्यायोचित भएको बताउनुभएको छ ।

‘यो अत्यन्तै न्यायोचित र स्वागत योग्य निर्णय हो,’ गिरीले भन्नुभयो, ‘मैले पहिलेदेखि भन्दै आएको कुरा यही थियो । यो निर्णय गर्ने सबै धन्यवादका पात्र हुन् ।’

उहाँले बुटवल स्थायी राजधानी तोक्नु संघीयताको मर्मविपरीत हुने तर्क गर्नुभएको छ । कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यले विरोध गरेको कुरा आफूले पनि सुनेको भन्दै विरोधका लागि विरोध नभई न्यायीक निर्णयलाई सबैले आत्मसात् गर्न जरूरी रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पनि दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने कुरा स्वागत योग्य भएको बताउनुभएको छ।

‘दाङले राजधानी मागेको होइन,’ सभापति खड्काले भन्नुभयो, ‘ बरू यो प्रदेशको आवश्यकता हो । दाङ सबैका लागि केन्द्र भागमा रहेको छ ।’

आग्रह पूर्वाग्रह नराखी संघीयताको मर्मअनुरूप प्रदेश ५ मा स्थायी राजधानी हुनका लागि दाङको विकल्प अरू जिल्लाहरुमा नहरेको उनले दाबी गर्नुभयो । सत्तारूढ नेकपाका दाङ अध्यक्ष टीकाराम खड्काले आफूहरूले निर्वाचनमा दंगाली जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभएको छ ।

यता बुटवलमा भने अवस्था ठ्याक्कै उल्टो छ । प्रदेश सभामा प्रस्ताव पेस भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठनले नेविसंघले टायर बालेर प्रदर्शन थालेको छ । सरकारी गाडीमाथि तोडफोड भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ६ : २५ बजे