४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

प्रदेश ५ को राजधानी भालुवाङः के भन्छन् कपिलवस्तुका सरोकारवाला ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश ५ सरकारले एकै खालको सरप्राइज दिए । नेकपा अध्यक्षद्धयले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने निर्णय गरे भने प्रदेश ५ सरकारले ‘भालुवाङ’ स्थायी राजधानी र नाम ‘लुम्बिनी’ तोकेर प्रदेश सभामा प्रस्ताव पेश गर्‍यो ।

यसपछि यस विषयको पक्ष र विपक्षमा ठुलै तरङ्ग मच्चिएको छ । श्रोतका अनुसार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले समर्थन गरेपछि प्रदेश राजधानी दाङ हुने कुरा आएको हो ।

नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी दाङ बनाउन अनुमति माग्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका थिए । जवाफमा दुई अध्यक्षले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभाको अधिकार भनेका थिए भने मुख्यमन्त्री पोखरेलको प्रस्तावमा सहमति समेत जनाएका थिए ।

यसपछि बुटलमा यस निर्णयको विरोधमा प्रदर्शन सुरु भइसकेको छ भने प्रदर्शनकारीले सरकारी गाडी तोडफोड समेत गरिसकेका छन् । पाल्पा र नवलपरासी पश्चिमतर्फका राजनैतिक दल र सरोकारवाला पनि प्रदेश सरकारको निर्णयको विरोधमा उत्रने तयारीमा रहँदा दाङ, रुकुमपूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, बाँके लगायतमा समर्थनमा खुसीयाली र्‍याली गर्दै छन् ।

तर, कपिलवस्तुका सरोकारवाला भने न खुलेर भालुवाङको समर्थनमा जुट्न सकेका छन् । न त बुटवलको विरोधमा । कपिलवस्तुका सांसद, राजनैतिक दल र प्रदेश राजधानी अभियानका अभियानकर्ता भने २ भागमा बाँडिएका पाइयो । केही सरोकारवालाको माग र यी विवाद चिर्न पनि कपिलवस्तु प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला रहेको छ ।

प्रदेश सांसद विष्णु पन्थीले प्रदेश सरकारको प्रस्ताव र र पार्टीको निर्णयलगत्तै घुमाउरो पारामा कपिलवस्तु राजधानीको लागि उत्तम विकल्प भएको भन्दै फेसबुक स्टाटस लेखेका छन् । उनी लेख्छन्, ‘तीन हजार वर्ष बढी पुरानो जिवित इतिहास र सभ्यता बोकेको सिद्धार्थ गौतम, कनकमुनी र क्रक्रुछ्न्द सहित तीन बुद्ध तथा बुद्धभद्र जन्माउने, रामघाट, रामदतिवन, लक्ष्मणघाट, श्रृङ्गीघाट, कपिलधाम, तौलेस्वरनाथ , कैलास आश्रम र मधुवनधाम समेटिएको बाणगंगाले सिचेको प्राचीन ऐतिहासिक कपिलवस्तु प्रति हामीलाई गर्व छ ।’

यसको अर्थ कपिलवस्तु प्रदेशकै महत्व भएको जिल्ला हो । राजधानीको लागि यो भूमि उत्तम छ । कतिपय संचारमाध्यमले त पन्थीको भनाई उद्धृत गर्दै पार्टी ह्विप नै नमान्ने भनी लेखिसकेका छन् । कुनै समय पन्थी कपिलवस्तुलाई राजधानी बनाउने अभियानमा पनि थिए ।

प्रदेश राजधानी कपिलवस्तुका अभियान्ता पोम नारायण पौडेलले खुलेर ठोस कुरा भनेनन् । मायादेवीको जिज्ञासामा उनले कपिलवस्तुको भागलाई पनि समेटेर भालुबाङ राजधानी बनाउने कुरा आफूले सुनेकाले यदि त्यसो हो भने स्वागत गरिने बताए ।

उनले भने, ‘कपिलवस्तु राजधानी हाम्रो माग अझै पनि यथावत् छ । बाणगंगा लगायतमा राजधानी आउन पर्छ भनेको होइन तर राजधानी कायम गर्दा कपिलवस्तुको कुनै भाग टच हुनुपर्दछ भन्ने हाम्रो माग थियो । सायद शिवराजका केही भाग पर्न सक्छन् । त्यसैले जे भो ठिकै छ ।’ यसो हुँदा रुकुमपूर्व, रोल्पा, प्युठान यता नवलपरासी पश्चिम सबैलाई पायक हुन्छ उनको भनाई छ ।

नेपाली काँग्रेस कपिलवसतुका सभापति सुरेन्द्रराज आचार्यले अझै पनि कपिलवस्तु राजधानी हुनुपर्ने जिकिर गरे । पार्टीको आधिकारिक निर्णय केही नभएको भन्दै उनले मायादेवीसंग भालुवाङ र बुटवलको बारेमा नबोली कपिलवस्तुको पक्षमा भनाई राखे । ‘यो विषयमा अब रुपन्देही काँग्रेससंग तुरुन्तै छलफल गर्छौ, अनि मात्र आधिकारिक धारण बाहिर ल्याउँछौँ’, उनले भने ।

कपिलवस्तु राजधानीका अर्का अभियान्ता एवम् कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु राजधानी हुन्थ्यो भने राम्रै राम्रै हुन्थ्यो भन्दै भालुवाङको विषयमा समर्थन जनाएका छन् । ‘हामी बोलेर केही हुँदैन । माथि जे भन्छन् त्यही हुने हो । अब दाङको भालुवाङ स्थायी राजधानी हुन्छ भने नराम्रो मान्नु पर्दैन ।’ संघीयताताको मर्म विकास भएकाले भालुवाङ राजधानी हुँदा धेरै ठाउँको विकास हुन्छ पौडेलले भने, यसले कपिलवस्तुलाई त्यति धेरै घाटा हुँदैन । अब विरोध, प्रदर्शन र विवाद त्यति आवश्यक पनि छैन । ’

यता नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले भने यस विषयमा अहिले केही नबोल्ने बताए । अध्यक्ष पोख्रेलले मायादेवीसंग भने–‘म अहिले पार्टी वैठकमा छु । यस विषयमा अझै केही बुझिसकेको छैन ।’

जिल्लाका अन्य नेता, सरोकारवाल र विद्याथीले आजपछि अब प्रदेशको राजधानी दाङको भालुवाङ नै हुने पक्काजस्तो भएको भन्दै अनावश्यक विवाद र प्रर्दशन गर्न जरुरी नरहेको बताएका छन् । प्रदेशका १२ जिल्लामै लगभग् प्रदेशको नामको विषयमा भने सहमति जनाइसकेका छन् । प्रदेशको नाम लुम्बिनी राख्नेमा कहिँ कतै विमती छैन ।

उता कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङको देउखुरी क्षेत्रलाई राजधानी बनाउने निर्णय न्यायोचित भएको बताएका छन् ।

‘यो अत्यन्तै न्यायोचित र स्वागत योग्य निर्णय हो,’ गिरीले भने, ‘मैले पहिलेदेखि भन्दै आएको कुरा यही थियो । यो निर्णय गर्ने सबै धन्यवादका पात्र हुन् ।’ उनले बुटवल स्थायी राजधानी तोक्नु संघीयताको मर्मविपरीत हुने तर्क गरेका छन् ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पनि दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने कुरा स्वागत योग्य भएको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ६ : ४८ बजे