६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा



नवलपरासी ।

नवलपरासीका एक बाबुले छोराको चौरासी पूजा गराइदिएका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य बिरलै देख्न पाइन्छ ।

सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिनुभयो । बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भइ पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनुभयो ।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उहाँका साहिँला छोरा हरिप्रसादले बताउनुभयो । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डाक्टर बाबुराम हुनुहुन्छ ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिनुभएको थियो । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले बताउनुभयो ।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चार छोरा अहिले पनि हुनुहुन्छ । उहाँको अहिले पाँचौँ पुस्ता खनाति चलिरहेको छ । उहाँका खनाति शिवम् दुई वर्ष पूरा भएका छन्, जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठिक १०० वर्षले फरक छ । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ३ : ३४ बजे