२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव उठ्यो, चिकित्सकमाथि आरोप नै आरोप !



मायादेवी अनलाइन, चार नम्बर ।
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएको अवस्थामा मृत्यु भएकी महिलाको शव उठेको छ । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विहीबार साँझ सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो ।

गीताको निधन हुनुमा अस्पतालको गम्भिर लापरबाही भएको भन्दै परिवार र आफन्तले शव उठाउन मानेका थिएनन् । निष्पक्ष छानविन भई क्षतिपुर्ति पाउनु पर्ने माग राखि बाहिर धर्ना दिएका गीताका परिवार, आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार विहान एक चरणको छलफल भएपछि दिउँसो शव उठाउन परिवार राजी भएका थिए ।

घटनाको बारेमा कार्तिक २० गते अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट लगायतसंग फेरि वार्ता गर्ने सहमतिमा अहिलेको लागि शव उठाइएको मृतकका भाइ मोहन पाण्डेले मायादेवीसंग बताउनु भयो ।

उहाँले भन्नुभयो ‘शव उठे पनि हाम्रा बिभिन्न मागहरु छन् । अस्पतालको लापरबाही नभएको भए गीताको ज्यान बच्थ्यो । यहाँ चिकित्सकको गम्भिर लापरबाही छ । यस्तै हो भने पटकपटक अरु गीताहरु अकालमै नमर्लान् भन्न सकिन्न ।’ त्यसैले हामीले घटनाको छानबिन गरी दोषाीउपर कडाकारबाही गरिनु पर्दछ र हामीले पनि क्षतिपुर्ति पाउनु पर्दछ ।’

गीताका परिवारले शल्यक्रिया गर्ने चिकित्सक डा. अनुपा थापाको लापरबाही कै कारण गीताको अकालमा ज्यान गएको भन्ने आरोप लगाएका छन् । ‘डाक्टर थापाले आमा र बच्चाको स्थितिको सामान्य पनि ज्ञान राख्न सकिन्न् । ‘शिशु मरिसकेको थाहा पाए पनि नर्मल डेलिभरी गराउन उद्धत भइरहिन् । अन्तिम अवस्थासम्म पनि उनले हामीलाई झुटो विवरण बताइन । आमा र बच्चाको स्थिति क्रिटिकल हुँदा समेत गम्भिर बनिनन्’ यो उनको लापरबाही नभएर के हो ? मृतकका भाई पाण्डेले प्रश्न गर्नुभयो ।

‘म सुरुदेखि अन्तिमसम्म बारम्बार चिकित्सक थापाको सम्पर्कमा नै छु । शिशु छैन भने पनि आमा बचाइदिनुहोस् भनेर मैले भनेकै थिएँ । जति रगत खोज्न परे पनि म खोज्छु । तर अप्रेसन गरेर बच्चा निकाली आमालाई बचाइदिनुहोस् प्लिज ! मैले भनिरहेको थिएँ । उहाँले रुँदै मायादेवीसंग भन्नुभयो ।’ उहाँले नर्मल हुन्छ । दुवै सुरक्षित नै हुनुहुन्छ भनेर मलाई अन्तिमसम्म भन्नुभयो । तर…!

चिकित्सकको चरम लापरबाही भएकै कारण दिदीले अकालमा ज्यान गुमाएको भन्दै डाक्टर थापालाई कानुन बमोजिम कारबाही नगरिए कडा कदम चालिने उहाँको चेतावनी छ ।

मृतकका आफन्त कमलराज गिरीले भन्नुभयो, ‘५ मिनेटअघि बच्चा ठिक छ । त्यसपछि बच्चा मरिसक्यो । त्यसपछि आमालाई पनि बचाउन सकिएन भनेर ब्रिफिङ हुन्छ । बच्चा र आमाको अवस्था तिनचार घण्टा अघि थाहा हुन्छ कि दुईचार मिनेटमै उथलपुथल हुन्छ ? यो लापरबाही नभएर के हो ?

गीताको जिन्दगीमा चिकित्सक थापाले गम्भिर लापरबाही गरेकाले यस्तो किन भयो हामीलाई अस्पतालमाथि नै शंका छ, चिकित्सकबारे छानबिन हुनुपर्छ र तुरुन्त कारबाही गर्नुपर्दछ ।’ उहाँको भनाई छ ।

यता अस्पतालले भने चिकित्सकको लापरबाहीका कारण गीताको ज्यान नगएको बताउँदै आएको छ । महिलालाई अकस्मात् श्वास प्रश्वासमा समस्या भएपछि शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको अस्पतालको भनाई छ । अस्पताल प्रशासनले फेरि वैठक बसी गलत भएको ठहरिए चिकित्सकमाथि कारबाही हुने जनाएको छ ।

अस्पताल बाहिर भएकाहरुले पनि अरु गीताहरुले यसरी मृत्युवरण गर्न नपारोस् भन्दै तुरुन्त सेवामा विश्वसनीयता ल्याउन अस्पताललाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  ७ : ४७ बजे