२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयन



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् ।

संघीय सरकारले गत जेठमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपनि त्यो कार्यान्वयन भएको थिएन । संघीय सरकारले गत जेठ २ गते चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

साना किसान सहकारीमार्फत धान खरिद गर्ने गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले निर्देशिकासमेत जारी गरिसके पनि यस क्षेत्रका सहकारीले किसानको धान तोकिएको न्यूनतम समर्थन मूल्यमा खरिद गरेका थिएनन् ।

नगरपालिकाले बोलाएको बैठकपछि तिलोत्तमाका ६ वटा साना किसान कृषि सहकारीहरु किसानको धान खरिद गर्ने आवश्यक तयारीमा जुट्न सहमत भएका नगर प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाले सहकारीसँग नगर क्षेत्रमा धान उत्पादनको अवस्था, भण्डारण क्षमता, आर्थिक व्यवस्थापनलगायतका विषयमा छलफल गरेपछि सहकारीहरु नगरका वास्तविक किसानले उत्पादन गरेको मापदण्डअनुसारको धान तोकिएका मूल्य र स्थानमा खरिद गर्न तयार भएका हुन् । यो निर्णयसँगै सहकारीले आवश्यक तयारी गरी किसानको धान तोकिएको मूल्यमा खरिद गर्न थाल्नेछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७ शनिबार ००:००  १ : २२ बजे