७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

३० दिन हुन थाल्यो एक्लाएक्लै नबोलेको, कहिले माझिएला ओली-दाहाल मन ?



काठमाडौँ ।
कहिलेकाहीँ दिनमा दुईपटकसम्म त कहिले हरेक दिनजसो भेटघाट गर्ने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ‘वान टु वान’ संवाद नभएको झन्डै एक महिना हुन लाग्यो ।उनीहरुबीच पछिल्लोपटक कात्तिक २५ मा करिब १५ मिनेट मात्रै ‘वान टु वान’ संवाद भएको थियो । त्यसयता ओली र दाहालबीच बैठक वा सामूहिक भेट भए पनि ‘वान टु वान’ संवाद ठप्पै छ ।

त्यसअघि २० कात्तिकमा उनीहरुबीच ‘वान टु वान’ संवाद भएको थियो । उक्त भेटमा १९ कात्तिकमा ओली समूहले प्रदेश एक स्तरीय भर्चुअल बैठक राखेको विषयमा दाहालले आपत्ति प्रकट गरेका थिए । साथै सचिवालय बैठकको लागि पनि दाहालले आग्रह गरेका थिए । तर, ओलीले त्यसलाई अस्वीकार गरेका थिए।

त्यसअघि दुई अध्यक्षबीच १५ कात्तिकमा ‘वान टु वान’ संवाद भएको थियो । संवादमा राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर ‘रअ’का प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटलगायताका विषयमा तिक्ततापूर्ण संवाद भएको थियो । सोही दिन दुई अध्यक्षबीच ‘अब अलग अलग जाने हो भने जाँउ’ भन्नेसम्मको संवाद भएको नेताहरुले बताएका थिए ।

त्यसपछि २२ कात्तिकमा उनीहरुबीच संयुक्तरुपमा भेट भयो । बैठकको सहमतिका लागि दाहालसहितका पाँचजना नेता पत्र बोकेर बालुवाटार गएका थिए । त्यसपछि ओली र दाहालबीच २५ कात्तिकमा करिब १५ मिनट मात्रै भेट भयो । भेटमा दाहालले बैठकको सहमतिका लागि आग्रह गरेका थिए । तर, ओली तयार नभएपछि दाहालसहित बहुमत सदस्यको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा भएको थियो ।

त्यसयता भने दुई अध्यक्षबीच छुट्टाछुट्टै भेट भएको छैन । २८ कात्तिकको सचिवालय बैठकमा सामूहिक भेट भएको थियो । उक्त बैठकमा दाहालले ओली माथि संगिन आरोपसहित प्रस्ताव पेश गरेका थिए । त्यसपछिको सामूहिक भेट ३ मंसिर को सचिवालयमा भयो । १३ र १६ मंसिरको सचिवलाय बैठकमा पनि दुई अध्यक्षबीच भेट भएको थियो । १३ मंसिरको सचिवालय बैठकमा ओलीले दाहालमाथि संगिन आरोपसहित जवाफि प्रस्ताव पेश गरेका थिए । १६ मंसिरको सचिवालय बैठकमा ओली र दाहालबीच चर्काचर्की नै भएको थियो ।

दुई अध्यक्षबीच संवाद नभएपछि संवादको प्रयासका लागि ओली निकट नेताहरुले भने दाहालसँग भेट गरेका छन् । बुधबार महासचिव र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले छुट्टाछुट्टै दाहाललाई भेटेका थिए । त्यस अगाडि अर्थात् ५ मंसिरमा उनीहरुले पार्टी मुख्यालय धुम्बाराहीमा दाहालसँग भेटेका थिए । त्यसबीचमा मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि दाहाललाई भेटेका थिए । सचिवालय सदस्य ईश्वर पोखरेलले शुक्रबार ९१९ मंसिर० मा दाहाललाई भेटेर दुई अध्यक्षबीच संवादका लागि आग्रह गरेका थिए ।

ओलीसमूह दाहालले पेश गरेको प्रस्ताव फिर्ता लिएर भदौ २६ को सहमतिमा फर्किनु पर्ने अडानमा छ । दाहाल–नेपाल समूह भने भदौ २६ को निर्णय भन्दा अगाडि बढेर दुवै अध्यक्षका प्रस्ताव स्थायी र केन्द्रीय कमिटीमा लगेर बहुमतको निर्णयबाट ओलीको राजीनामा माग्ने तयारीमा छ । त्यसअघि २० मंसिरमा सचिवालय बैठक बस्दैछ । योबीचमा ओली समूहका नेताहरुले दाहाललाई भेटेर दुई अध्यक्षबीच संवाद गर्न सुझाव दिएका छन् । तर, दुई अध्यक्षबीच ‘वान टु वान’ संवाद गराउने उनीहरुको प्रयास सफल भने हुन सकेको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  ७ : ०२ बजे