मेरो कपिलवस्तु : हाम्रो कपिलवस्तु


देवेन्द्र पौडेल ।
(निबन्ध)
तिम्रै काखमा पाइला राखी सधैँ डुली राखूँ
सफलताको उचाइमा सधैँ पुगी राखूँ
नओइलाउने फूलजस्तै सधैँ फुली राखूँ
सम्झनाका लहरमा सधैँ बगी राखूँ ।

यो धरतीको उज्यालोमा पाइला टेकायौ
दुख के हो, सुख के हो बाटो देखायौ
अमूल्य छन् तिमीसँग बिताएका पल
तिमी बिना फिक्का हुन्छन् संघर्षका फल ।।

जन्मिएको धरती ठूलो, जन्मिएको गाउँ
जे गरेर हुन्छ राम्रो बनाउन पाऊँ
तिम्रै काखमा यो मनले खेलिरहने भन्छ
तिम्रै जीवन सुकर्मले भरिदिने मन छ ।।

भनिन्छ, सुनमा सुगन्ध थपिए के होला ? पक्कै पनियसले पूर्णता प्रदान गर्दछ । पूर्णता एकै पटकमा प्राप्त गरिने कुरा होइन । यो त एउटा विन्दुबाट आरम्भ हुन्छ । त्यसका लागि एउटा आधारको आवश्यकता पर्दछ । नेपाल, त्यसका लागि सम्भाव्य उत्कृष्ट आधार हो । वस्तुको महत्व आकारमा होइन, त्यसको गुणमा झल्कन्छ । नेपाल सानो छ तर परिचय सानो छैन, बुझ्न सके, लिन सके, मिलाउन सके नेपालको महत्व सानो छैन । यिनै कुरासँग जोडिएको छ, हाम्रो गाउँको परिचय पनि ।
वास्तवमा हाम्रो गाउँको परिचय सिंगै देशको परिचय हो । झापाका हल्दीबारी, केचना कल, इलामका कन्याम र फिक्कल पनि हाम्रै गाउँ हो । डडेल्धुराका जेठी नेपाल कान्छी रुपाल र बझाङको रामारोशन पनि हाम्रै ठाउँ हो । हाम्रो गाउँ तीन करोड नेपालीको मातृभूमि र कर्मभूमि हो । भोक प्यासको जलन मेटाउने सुन्दर आधार भूमि हो । कसैले स्वर्गका मिठा कुरा गर्दै इन्द्रको नन्दन बगैँचाको कुरा गर्लान् । स्वर्ग कहाँ छ, मैले देखेको छैन । मोक्ष कस्तो हुन्छ, मलाई थाहा छैन । मलाई चित्रगुप्तको बहीखातादेखि पनि कत्ति डर लाग्दैन किनकि म स्वर्गमै जन्मिएको छु । हामी स्वर्गमै जन्मिएका छौँ । हाम्रो स्वर्गमा पनि कोटिकोटि देवताहरु छन् । बख्खु, टोपी र धोती लगाएका मजेत्रो, पाउजु र मेहेन्दी लगाएका देउता यहीँ हाम्रै गाउँमा छन् । हामीलाई यहीँका देउता र शान्तिका अग्रदूत गौतम बुद्धको ज्ञान र विवेकको नेपाली बगैँचा नै प्रिय छ ।

म खासमा कपिलवस्तुको मान्छे, गौतमबुद्धको प्राचीन तिलौराकोट दरबार मझेरीमा बाल्यकाल र तन्नेरी वयका कैयौँ वसन्तहरु साटेको मान्छे, अनि यही शान्ति र ज्ञानको पुण्य भूमिबाट सिंगो नेपाललाई नियाल्ने मान्छे । यस अर्थमा मलाई हाम्रो गाउँ राम्रो गाउँ भन्नलाई कुनै अप्ठ्यारो छैन । वसुधैव कुटुम्बकम्को वैदिकमन्त्र, पूर्खाका मूल्य मान्यता र आदर्शको पर्याय हाम्रो गाउँ पश्चिम तराईमा अवस्थित अन्नको भण्डार हो । १७३८ वर्ग किमि क्षेत्रफल, करिब छ लाख जनसंख्या, दक्षिण पश्चिममा भारतसँग सीमा जोडिएको, उत्तरमा अर्घाखाँचीका महाभारत श्रृंखला र पूर्वमा रुपन्देहीसँग कोठिया नदीले विभक्त गरेको कपिलवस्तुमा वर्तमान संरचना अनुसार कृष्णनगर, वाणगंगा, कपिलवस्तु, महाराजगञ्ज, बुद्धभूमि र शिवराज गरी ६ नगरपालिका र शुद्धोधन, विजयनगर, मायादेवी र यशोधरा गरी ४ गाउँपालिका रहेका छन् । यी नामैले हाम्रा मनमा अथाह आनन्द, ऐश्वर्य, भ्रातृत्व र शान्तिको सन्देश प्रवाह गराउँदछन् । मेरो जिल्ला, मेरो गाउँ, मेरो सर्वस्व हो । फूलको आँखामा फूलै संसार भनेजस्तै प्राकृतिक, सांस्कृतिक र सामाजिक सुन्दरतालाई हेर्ने मन पनि सुन्दर हुनै पर्दछ । नेपाली मन भित्र पनि सुन्दर छटा बोकेर बुद्धकालीन सभ्यताका साथ उभिएको हाम्रो गाउँ, हाम्रो जिल्ला, देश हेर्ने सुन्दर ऐना पनि हो ।

हाम्रो गाउँको छाति भएर वाणगंगा र बेलानदी बग्दछन् । हाम्रै गाउँको बाटोमा साहित्यकार भवानी भिक्षुका पदचापहरु भेटिन्छन् । यहाँका पोखरीहरु सूर्य उपासना गर्दै नयाँ दिनको शुभारम्भ गर्दछन् । हाम्रै गाउँको नाभीमा विश्व सिमसार क्षेत्रमा सूचीकृत १५७ हेक्टरमा फैलिएको जगदीशपुर ताल रहेको छ । जहाँ साइबेरियालगायतका देशबाट जलचर पंक्षीहरु आई रमाउँछन् । कृषिमा निर्भर हाम्रो गाउँ अनेकतामा एकता एकतामा अनेकतापूर्ण त्रिपिटक, कुरान, वेद र बाइबलको चतुर्वेणी हो । बाहुन क्षेत्रीहरु, गुरुङ, मगर, ठकुरीलगायत नेपाली मातृभाषीहरु गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, स्याङ्जा आदि ठाउँका संस्कृति र मौलिकता बोकेर हाँस्ने गर्दछन् । हाम्रा गाउँका देउँसी भैलो, होली, माघीमा सबै मिलेर नाच्ने र रमाउने गर्दछन् । हामी इद बकरिदको प्रसाद खान वाणगंगा सिंचाइ आयोजनाको नहर हुँदै साइकल चढी तौलिहवा पुग्छौँ । मगर दाइको छोराको बिहेमा अब्दुल र रतिया कम्मर मर्काइमर्काइ नाच्ने गर्दछन् । तौलेश्वर मन्दिर, तिलौराकोट, बुद्धको न्यायालय कुदान, लुम्बिनीको मायादेवी मन्दिर हाम्रा आदर्श हुन् ।

एकदिनमा घुमेर, एकछिनमा डुलेर रित्तिन्न हाम्रो गाउँ । बुद्धका भान्जा विरुढकको कथासँग जोडिएको लम्बुसागर, निग्लिहवा, अरौराकोट र गोटिहवाका पुरातात्विक अशोक स्तम्भहरु, महली सागर बाँध हाम्रै स्वागतको प्रतीक्षामा बसिरहेका छन् । श्रृङ्ग ऋषिको तपोभूमि श्रृङ्गीघाट र मंसिर पूर्णिमामा लाग्ने रामघाट र लक्ष्मणघाटका मेलाले निधारमा हत्केलाको पाली बनाएर सधैँ हाम्रा पाहुनाहरुलाई पर्खिरहेका हुन्छन् । दतिवनका बाबा र धानखोलाको चिसो हाबाले सबैको ध्यान तानेको हुन्छ । बारीमा पसेर एक दुई लाँक्राउखु होस् वा बाटो हिंड्दा मम्फलीको एउटा बोट उखेलेर खाजा खाँदैमा रिसाउँदैन हाम्रो गाउँ । यात्रा गर्दैगर्दा खेतमा काम गरिरहेका किसानका अवधी भाषाका मिठा गीतले पाहुनालाई टक्क रोक्दछन् । बगैँचामा बसेर सुगाले झारेका जुठा आँप खाँदा झनै आनन्दपो लाग्दछ । कसैले ईष्र्या गर्लान् वा अतिशयोक्ति ठान्लान् साँच्चै हाम्रो गाउँ धरतीकै भू–स्वर्ग हो । हाम्रो एउटै मात्र सपना र एउटै मात्र विपना हो ।

पसिनामा रमाउने हाम्रो गाउँलाई अझै डलरको हावाले तानेको छैन बरु हाम्रो गाउँको सांस्कृतिक, प्राकृतिक, सामाजिक र पुरातात्विक सौन्दर्यले डलरलाई तानिरहेको छ । यहाँका चार कक्षामा पढ्ने नानी बाबुले पर्यटकको गाइड गर्ने सामथ्र्य राख्दछन् । पल्लाघरे किसान काकाको बरन्डामा जाजिम ओछ्याएर होरहा खाँदाको आनन्द सायद यहाँ आउने पाहुनाहरुले बिर्सदैँनन् । अतिथि देवो भव भन्दै चौधरी काकीले बेलको सर्बत र ढकियाभरि ढिकरी खुवाउँदा हरहराएको आँतशीतलताले भरिन्छ । भारतबाट स्थलमार्ग भएर नेपाल भित्रने पाहुनालाई कृष्णनगरले स्वागत गर्दछ । यहाँ यादवको बिहेमा आउने पाहुनालाई गुप्ताले बनाएको मिठाइले सत्कार गरिन्छ । हाम्रा गाउँमा मक्का मदिना छ, जेरुसेलम छ, वनारस छ र लुम्बिनी त छँदैछ । समग्रमा विश्व छ । बाटो कतै हिलो होला, किसानका लुगामा पसिना गनाउला, यदाकदा अन्धविश्वासका अवशेष भेटिएलान् । पखाल्न बाँकी नै छ । चेतनाका पखेटा गाउँका सबै ठाउँमा एकनासले नपुगेको होला तर पर्यटकको दिलदुख्ने व्यवहार गर्दैन । पूर्वपश्चिम राजमार्गको करिब १०० किमि क्षेत्र ओगट्ने हाम्रो गाउँठाउँमा आउने पर्यटकलाई वनखण्डका मृग शावकहरुले पनि नमन गरिरहेका हुन्छन् ।

गेरुवस्त्र लगाएका बोलबमधारी तीर्थयात्रु लक्ष्मणघाटबाट जल यात्रासहित पर्रोहाधाम जाँदै गरेको दृश्यले जो कोहीमा पनि आध्यात्मिक भावनाको सञ्चार गराइदिन्छ र हिन्दू मुस्लिम दुबैले मान्ने मोहरम पर्वका बेला बजाइने बाजाले सबैमा सांगीतिक आनन्द प्रवाह गर्दछ । जगदीशपुरका पकौडा चाख्दै त्यहाँ अवस्थित कनकमुनि उच्च माविको विशाल मैदानमा प्रभातकालीन यात्रा गर्दाको आनन्दानुभूति र चन्द्रौटाका बतासा खाँदै घुम्नुको मज्जै बेग्लै छ । जहदीका पेंडा र खुवा त झन छुटाउनै हुँदैन् । पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईसमेतले यता आउँदा कहिले खान नबिर्सने तौलिहवाको फुल्कीको पनि आफ्नै इतिहास र परम्परा रहेको छ । हाम्रो गाउँ राम्रो गाउँ ज्ञान, स्रोत र अनुसन्धानको अनुपम भण्डार र विश्व विद्यालय हो । यहाँ कपिलवस्तु बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस र बुद्धभूमि लगायतका क्याम्पसले प्राज्ञिक समाज निर्माणमा ठुलो भूमिका निर्वाह गरिरहेका छन् ।

कपिलवस्तु हाल कोरोना महामारीको चक्रवातमा छ । समय सधैँ एकनासको रहन्न । असिना पानीले ढालेका मकै उठेजस्तै, हाबाहुरीले भत्काइदिएका गुँड चराचुरुंगीले बनाएजस्तै पक्कै पूर्ववत् लयमा फर्कनेछ । त्यतिबेलासम्म नजिकको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानास्थल सुचारु हुनेछ, तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सूचीकृत भइसक्नेछ, अनि हामी भैरहवाबाट लुम्बिनी हुँदै हाम्रो गाउँ राम्रो गाउँलाई आँखामा सजाउँदै घुम्ने छौँ । आशा छ, हाम्रो प्रतीक्षा र स्वागतलाई यहाँहरुले स्वीकार गर्नुहुनेछ र हाम्रो अभियानलाई पक्कै साथ दिनुहुनेछ ।
सबैको जय होस् ।
देवेन्द्र पौडेल, कपिलवस्तु, हालः सेन्ट जेभियर्स कलेज, काठमाडौँ

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस