१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगामा माघी तथा खिचडी महोत्सव सुरु, हथौसामा तिन दिनसम्म यस्तो हुँदै छ



मायादेवी अनलइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा माघी महोत्सव सुरु भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटिको आयोजना तथा नगरपालिकाको सहकार्यमा शुक्रबारबाट वडा नम्बर ११ हथौसामा ‘तेश्रो नगरस्तरीय माघी तथा खिचडी महोत्सव’ सुरु भएको हो । महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन नगरप्रमुख मंगलप्रसाद थारुले गर्नुभएको थियो ।

पहिलो दिन शुक्रबार थारु जातिको संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी र थारु जातिमा प्रचलित खानाका परिकारको प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थारु जातिका प्रसिद्ध झुमरा, लाठी, मयूर आदि नाचहरु प्रस्तुत गरिने आयोजकले बताएका छन् ।

महोत्सवमा भोली र पर्सी थारु नाच झुमराको प्रतियोगिता हुने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने आयोजक थारु कल्याण कारिणी सभाका नगरअध्यक्ष भग्गु प्रसाद थारुले बताउनु भयो । महोत्सवस्थलमा बिभिन्न स्टल राखिएका छन् भने मनोरंजनको लागि पिङहरुको पनि ब्यवस्था छ ।

यसैबीच महोत्सवको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले थारु संस्कृति संरक्षणमा जोड दिएका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथि थारु, विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारु लगायतले बोल्दै थारु संस्कृतिको संरक्षणमा सबै लाग्नु पर्ने बताउनु भएको थियो ।

यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला अध्यक्ष उमाशंकर थारु, नेकपा केपी ओली समूह कपिलवस्तुका कार्यालय सचिव धर्मराज भुषाल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव दल बहादुर कुँवर, बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्याल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई आदिले पनि मन्तव्य राख्नु भएको थियो ।

माघी पर्व थारु समुदायको नयाँ बर्ष भएको हुनाले नगरस्तरमा हुने यस्ता महोत्सवले थारुजातिको संरक्षण र संवद्धनमा टेवा पुग्ने उहाँहरुको भनाई छ । थारु कल्याणकारिणी सभा बाणगंगा नगरकमिटिका अध्यक्ष भग्गु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन श्याम सिटी र सिमा थारुले गर्नुभएको थियो ।

गत बर्ष वडास्तरमा माघी महोत्सव भए पनि अबदेखि बर्षमा एकपटक एकैस्थानमा वृहत् माघी महोत्सव हुने नगर प्रमुख थारुले बताउनु भएको थियो । त्यै अनुसार अहिले वडा नम्बर ११ मा भएको र अरु बर्ष अरु वडामा महोत्सव हुेन नगरले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ७ : ४७ बजे