१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

ओलीमाथि खनिए कमाल –‘प्रधानमन्त्री भन्न लाजमर्दो भइसक्यो, अब किर्तेप्रसाद भनौँ’



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान प्रधामन्त्री केपी शर्मा ओलीमाथि खनिनु भएको छ । देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कमाल ओलीमाथि खनिनु भएको हो । गत पुष ५ गते संसद विघटन गर्नु भएका प्रधानमन्त्री ओलीले दिनप्रतिदिन गल्ती गरिहरहेको भन्दै पछिल्लो समय किर्ते र जालसाजीतर्फ लागेको उहाँको आरोप छ ।

संविधानको कुनै धारा उल्लेख नगरी संसद विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ लगेको, अदालतमा प्रवेश गरेको कागजलाई किर्ते गरी फिर्ता गर्नेसम्मका काम ओलीबाटै भएकोले उनलाई प्रधानमन्त्री भन्न पनि लाज भएको उहाँको जिकिर छ ।

‘ओली अब प्रधानमन्त्री रहेनन्, सबैले किर्तेप्रसाद ओली भन्दा हुन्छ । उनले आफुलाई यसैगरी प्रमाणित गरे’ मुलुकको प्रमुख कार्यकारी पदमा बसेको मान्छेले किर्ते गर्छ भने त्यसलाई किर्ते प्रसाद नभएर के भन्ने ? उहाँले दोहोर्याउनुभयो ।

केपी ओली सरकार भ्रष्टाचार र काण्डैकाण्डमा फसेकोले असफल सिद्ध भएपछि चुनावको नौटंकी गरेको उहाँको भनाई छ । वैशाखको निर्वाचन कुनै पनि हालतमा नहुने जिकिर गर्दै यस्ता भ्रमको पछि नलाग्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।

चुनावभन्दा संविधानको रक्षा ठुलो भएकाले अहिले नेपाली काँग्रेस ओली कदमविरुद्ध डटेर लागेको बताउनु भयो । हरेक संकटबाट काँग्रेसले मुलुकलाई बचाएको भन्दै अब पनि मुलुक जोगाउने अभिभारा काँग्रेसकै भएको उहाँको भनाई छ । आफ्ना आन्दोलनमा प्रहरीले अनावश्यक रुपमा धरपकड गरिरहेको भन्दै उप्रान्त त्यसो नगर्न कमालले चेतावनी दिनुभयो ।

कार्यक्रममा काँग्रेस बाणगंगा नगर कार्यसमिति सभापति एवम् नगरप्रमुख प्रमुख मंगलप्रसाद थारु, वडा नम्बर १ की वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी लगायतले बोल्दै ओली कदम र राष्ट्रपतिको भूमिकाको कटु आलोचना गरेका थिए । बाणगंगाको कार्यक्रमको संचालन नगरसचिव रामजी सेनले गर्नुभएको थियो ।

नेपाली कांग्रेस कपिलवस्तुले आज बाणगंगासहित अरु ९ पालिकामा पनि प्रदर्शन गरेको छ ।
ती कार्यक्रममा काँग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज मुलुकभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।

अब माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने काँग्रेशले निर्णय गरिसकेको छ ।

यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ४ : २७ बजे