२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११ः५० बजे आयोग पुगेका हुन्।

वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड-नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन। ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीबारे बुझ्न प्रधानमन्त्री ओली आयोग जान लागेको बताए।

वैशाख १७ र २७ गते हुने चुनावको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित नेताहरू आयोग जान लाग्नुभएको हो। आयोग पुगेर प्रधानमन्त्रीले निर्वाचनको तयारीबारे बुझ्नुहुनेछ,’ नेम्वाङले भने।

यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  १२ : ०१ बजे