२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

आज अक्षर आरम्भ ‘अ, ऊ र म’ वर्णबाट गराउँदा सबैभन्दा उत्तम



मायादेवी अनलाइन, चार नम्बर ।

आज वसन्त पंचमी अर्थात् सरस्वति पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

योगाचार्य कमल गुरुका अनुसार अक्षर आरम्भ गराउँदा स्वरवर्णबाट गराउँदा सबैभन्दा उत्तम हुन्छ । यी वर्णको उच्चारण या लेखाइपछि मात्र अरु बर्णको पठनपाठन र लेखन गराउँदा उत्तम हुने गुरुको भनाई छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जसंग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘अ, उ , म’ वर्णबाट गराउनु पर्दछ । अ ले ब्रहम्मा, उ ले विष्णु र म ले म महेश्शवरलाई जनाउँछ । अर्थात् यसबाट पोजेटिभ भाइब्रेसन खिचिन्छ र उनीहरुमा ज्ञान, बुद्धि र विवेकको विकास हुन्छ ।’ यसपछि मात्र अरु ब्यञ्जन वर्ण र अंग्रेजी वर्ण बढाउन, लेखाउन उहाँको अभिभावकलाई सुझाव छ ।

उहाँले घरमै बसेर नानीबाबुले सरस्वति माताकोे तस्विरलाई छातीमा राखी विसुद्ध मनले ‘हे सरस्वति माता मलाई ज्ञान र बुद्धि देऊ, म सदैव तिम्रो शरणचरणमा हुनेछु’ मात्रै भने पनि लाभ हुने बताउनु भयो ।

सरस्वतिलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि लिएर प्रिय लाग्ने भएकाले आजका दिन यी सामाग्रीसहित पुजा गर्दा राम्रो हुने उहाँले बताउनु भयो । पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गर्न पनि उहाँ सुझाउनुहुन्छ । शुद्ध भित्तो, काठको पाटी, बोर्ड या कापीमा अक्षर आरम्भ गराउन सकिने विद्धानहरु बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : ३३ बजे