खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ वाणगंगाको अध्यक्षमा विश्व कार्की चयन


मायादेवी अनलाइन, चारनम्बर ।

वाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति नन्दनगरका अध्यक्ष विश्व कार्कीको अध्यक्षतामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ वाणगंगा नगर समिति चयन भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा सोमबार चार नम्बरमा भएको भेलाले कार्कीको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन भएको हो ।

नगरमा खानेपानी तथा सरसफाइको स्वच्छतामा काम गर्ने उद्देश्य अनुसार गठन भएको नगर समितिको उपाध्यक्षमा शुष्मा थापा, सचिवमा राम प्रसाद भुसाल, कोषाध्यक्षमा विमला चौधरी, सह-सचिवमा लक्ष्मी क्षेत्री सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सन्जु सेन, लक्ष्मी आचार्य, दिपक कुमार भट्टराई, दिल कुमारी भन्डारी, प्रेम बहादुर उचाइ ठकुरी, कुन्तामणी भुसाल, भिम बहादुर पुन, अरसद कमाल र नेत्र प्रसाद खनाल सदस्यमा चयन हुँदा मान बहादुर थापाको संयोजकत्वमा लक्ष्मी अर्याल र ध्रुव थारु रहेको लेखा समिति चयन भएको बताइएको छ ।

जिल्ला भित्रका दशवटै पालिकामा समिति गठन गर्ने जिल्ला समितिको निर्णय अनुसार समिति बनाइएको जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले बताउनु भयो । बुद्धभूमि नगरपालिकामा गत माघ ३० गते नै गठन गरि सकिएको छ भने अन्य पालिकामा पनि चाँडै गठन हुने अध्यक्ष शाहले बताउनु भयो । बाणगंगा नगरपालिकाको सहयोगमा भेला सम्पन्न भएको हो ।

जिल्ला अध्यक्ष शाहको अध्यक्षतामा भएको भेलामा बोल्दै प्रमुख अतिथि नगर प्रमुख मङ्गल प्रसाद थारुले खानेपानी स्वच्छतामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । नगरको एकल प्रयासले मात्र खानेपानी स्वच्छता कायम हुन नसक्ने भन्दै सबैको प्रयासबाट अभियान सफल हुने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिकिो रुपमा नगर उप-प्रमुख चक्रपाणी अर्याल लगायतले बोल्दै खानेपानी र सरसफाई नागरिकको अभिन्न अंग भएको बताउनु भयो । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु बिष्णु पौडेल, बालकुमारी पन्त, गणेश क्षेत्री, भिष्म भुसाल, ध्रुब बेल्बासे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नगरका खानेपानी तथा सरसफाई उपभोक्ता समूहका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । उनीहरुले नगरका समस्याका बारेमा अवगत गराएका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस