गुल्मीका कृषकलाई बगैँचामै सुदृढीकरण सिकाइँदै


गुल्मी ।
कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन लम्सराङका ६४ वर्षका ओमप्रसाद घर्तीको सुन्तला बगैँचामा करिब ५ सय बिरुवा छन् । ती मध्ये १ सय भन्दा धेरै बिरुवाहरूमा फल लाग्न थालेको छ ।

घर्तीलाई बगैँचा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा थाहा थिएन । पुरानै शैलीमा बिरुवा लगाएको र बगैँचा सुदृढीकरणमा यसअघि आफूले ध्यान नदिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई गुल्मीले कृषकको बगैँचामा गई कसरी बगैँचा सुदृढीकरण गर्ने भन्नेबारे प्रयोगात्मक तरिकाबाट जानकारी गराएपश्चात आफूहरूलाई धेरै ज्ञान हासिल भएको घर्ती बताउँनुहुन्छ ।

यस्तै, सोही स्थानकी ४८ वर्षकी रेनु श्रीषको बगैँचामा पनि करिब २ सय २० बिरुवा छन् । उहाँलाई पनि कुन समयमा बिरुवा काँटछाँट गर्ने, मलजल राख्ने भन्नेबारे थाहा थिएन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बगैँचामै आई बिरुवा काँटछाँट गर्ने, मलजल गर्ने तरिका र निलो तुथो लगायतका विषादी राख्नेबारे जानकारी पाएपछि सहज भएको उहाँ बताउनुहुन्छ । उहाँले आफूहरूलाई अझै धेरै सीप र तालिम आवश्यक रहेको बताउनुभयो ।

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई गुल्मीका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले यो समय फलफूलका बिरुवामा मलजलसँगै बगैँचा सुदृढीकरण गर्ने समय भएको जानकारी दिनुभयो ।

जिल्लाका ८ स्थानीय तहहरू मुसिकोट, रेसुंगा नगरपालिका, धुर्कोट, मदाने, गुल्मीदरबार, छकोट, चन्द्रकोट र कालीगण्डकी गाउँपालिकाका २४ वटा वडाहरूमा यसरी बगैँचा सुदृढीकरणको अभियान नै संचालन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा कूल ८८८ हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको छ ।

गुल्मीमा यसवर्ष अघिल्लो वर्षभन्दा ४० प्रतिशत सुन्तला उत्पादनमा कमी आउँने अनुमान गरिएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष सात हजार २२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष झण्डै ४० प्रतिशत सुन्तला उत्पादनमा कमि आउँने अनुमान गरिएको काफ्लेले जानकारी दिनुभयो ।

गत बैशाखमा असिनाले फूल र दाना झारिदिएकाले उत्पादनमा कमी आएको काफ्लेको दाबी छ । अझै पनि कृषकहरूको सुन्तला बोटमा रहेको र टिप्न बाँकी रहेकाले फागुन महिनाको अन्तिमसम्म वास्तविक विवरण आउने कार्यालयले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस