१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोरोनाका कारण अमेरिकामा ५ लाख बढीको मृत्य, राज्यहरुमा बल्यो मैनवत्ति



एजेन्सी ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको र अझै पनि महामारीको गम्भीर संकटमा रहेको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख एक सय ७० भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या दुई करोड ८१ लाख ८५ हजार चार सय भन्दा धेरै पुगेको छ ।

विश्वभर हालसम्म ११ करोड १६ लाख ९३ हजार पाँच सय भन्दा बढि संक्रमित पुगेका छन् भने २४ लाख ७३ हजार भन्दा बढिको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाका कारण पाँच लाख अमेरिकीको ज्यान गएको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनले भनेका छन्, ‘एक राष्ट्रका रुपमा, हामी यस्तो क्रूर नियती स्वीकार गर्न सक्दैनौँ । हामीले दुःखको यो गम्भीर अवस्थामा शून्य हुनुको साटो यसलाई रोक्न प्रयास गर्नु पर्छ ।’

सम्बोधनपछि राष्ट्रपति बाइडेन र प्रथम महिला डा। जिल बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिस र द्वितिय पुरुष डग एनहोफले ज्यान गुमाएको सम्मान र स्मृतिमा मौनधारण गरेका थिए । ज्यान गुमाएकाहरुको स्मृतिमा ह्वाइट हाउस बाहिर दीप प्रज्वलन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्धमा एकताका लागि आह्वान गर्दै भने, ‘आज म सबै अमेरिकीलाई स्मरणका लागि आग्रह गर्छु । जसले ज्यान गुमाए र जो पछि छुटे उनीहरुलाई सम्झनु होला ।’

राष्ट्रपति बाइडेनले कोरोना भाइरसका कारण ज्यान गुमाएकोको शोकमा पाँच दिनसम्म संघीय कार्यालयमा झण्डा आधा झुकाउन आदेश पनि दिएका छन् ।कोरोना भाइरसका कारण पहिलो तथा दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा मारिएका भन्दा धेरै अमेरिकी ज्यान गएको छ । कोरोना भाइरसका कारण ज्यान गुमाएका कोही पनि सामान्य व्यक्ति नरहेको र सबै असामान्य क्षमता तथा प्रभाव युक्त व्यक्तिहरु गुमाउनु परेको बाइडेनले बताएका छन् ।

बाइडेनले आफूले आफन्त गुमाउनेको पीडा पनि पुनः साझा गरे र शोक तथा दुःखको घडीमा साथमा रहेको बताउने प्रयास गरे । सन् १९७२ का दुर्घटनामा उनकी श्रीमती र छोरीको ज्यान गएको थियो । यस्तै सन् २०१५ मा ब्रेन क्यान्सरका कारण छोरा बो बाइडेनको मृत्यु भएको थियो ।बाइडेनले आफू पूर्वका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा गम्भीर रुपमा कोरोना भाइरसको महामारीलाई लिएर काम गरिरहेका छन् । उनले शपथको अघिल्लो दिन जनवरी १९ मा कोभिडका कारण निधन भएका चार लाख अमेरिकीको स्मृतिमा विशेष कार्यक्रम गरेका थिए । त्यसको एक महिनामा थप एक लाख अमेरिकीको ज्यान गएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ७ : ४२ बजे