८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीमतीको हत्या गर्ने श्रीमानलाई १६ बर्षको जेल सजाय



बुटवल ।
आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका रामकुमार श्रेष्ठलाई जिल्ला अदालत नवलपरासीले १६ बर्षको जेल सजाय सुनाएको छ ।

सुनवल नगरपालिका–७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारलाई श्रीमती २१ वर्षीया अस्मिता श्रेष्ठको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत पश्चिम नवलपरासीले १६ वर्षको जेल सजाय सुनाएको हो ।

सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलासले हत्या आरोपित रामकुमारलाई १६ वर्षको जेल सजाय सुनाएको जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका सुचना अधिकारी सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पीडितको पक्षमा जिल्ला न्यायधिवक्ता चन्द्रबहादुुर सिंजाली र सहायक जिल्ला न्यायधिवक्ता गोर्कणराज घिमिरेले गरेको बहसमा अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को ज्यान सम्बन्धी कसुर ठहर गर्दै रामकुमारलाई जन्मकैदको फैसला गरेको थियो ।

कसुर अन्तरगत २५ वर्ष जेल सजाय ठहर गरिएको भएपनि अदालतले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ वर्षको जेल सजाय फैसला गरेको सहायक जिल्ला न्यायधिवक्ता घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  ७ : ०६ बजे