१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

होटल व्यवसायी संघ कपिलवस्तुको मेची-महाकाली यात्रामा पालिकाहरुको साथ



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको परिचय बोकेर मेची महाकाली यात्रामा निस्कन लागेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुलाई जिल्लाका सबै पालिकाले सहयोग गर्ने भएका छन् । यही चैत्र ३ गतेदेखि १४ गतेसम्म गर्न लागिएको यात्राको लागि अहिले संघ कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने र भिडियो छायांकन गर्ने क्रममा छ । यसै सन्दर्भमा पालिका प्रमुखहरुसंग पनि भेटघाट गर्ने र अभियानको बारेमा बताउने काम संघले गरिरहेको छ । भेटघाटको क्रममा जिल्लाका १० पालिकाबाटै अभियानमा सहयोग हुने प्रतिवद्धता आएको सघका अध्यक्ष गोपाल बहादुर खत्रीले मायादेवीसंग बताउनु भयो ।

संघले यसै हप्ता २ दिन लगाएर पालिकाका प्रमुखसंग पनि भेटघाट गरेको छ । अध्यक्ष खत्रीसंगै वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, उपाध्यक्ष रेशम ढकाल, सचिव शिवराम सापकोटा, कोषध्यक्ष पदम ढकाल, सचिवालय सदस्य पर्शुराम रौतारसहितको टोलीले पालिका प्रमुखहरुलाई भेटेको हो ।

भेटको क्रममा अभियान निकै राम्रो भएको भन्दै बाणगंगा नगरप्रमुख मंगल प्रसाद थारु, बुद्धभूमिका नगरप्रमुख केशव कुमार श्रेष्ठ, शिवराजका नगरप्रमुख नेत्रराज अधिकारी, कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाह, कपिलवस्तु नगरप्रमुख किरण सिँह, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा लगायतले शुभकामना दिनुभयो । आफूहरुले गर्ने काम होटल व्यवसायीले गरेको भन्दै यसले जिल्लाको पर्यटनमा टेवा पुग्ने उहाँहरुको भनाई छ । शुद्धोधन, यशोधरा, मायादेवी गाउँपालिका प्रमुखहरुलाई भेटेपछि थप कार्यक्रम अघि बढ्ने खत्रीले बताउनु भयो ।

कपिलवस्तुमा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल र खानबस्न होटल तथा रेष्टुरेन्ट भए पनि यसको उचित प्रचार हुन नसक्दा ओझेलमा परेकोे संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले बताउनु भयो । जिल्लाको परिचय बोकेर होटलसंघ मेचीमहाकाली अभियानमा जोडिदा यी सबैमा टेवा पुग्ने पनि उहाँले बताउनु भयो । अभियान पुग्ने हरेक स्थानमा होटल तथा रेष्टुरेन्ट महासंघले संयोजन गर्ने छ ।

बुद्धले ३० बर्ष विताएको तिलौराकोट, जगदीशपुरताल, मधुवनधाम, कपिलधाम, कैलाश आश्रम लगायत दर्जनबढी पर्यटकीय स्थल छन् । विश्वमै शान्तिको सन्देश कपिलवस्तुबाट नै प्रवाहित भएको छ । यी सबैको भिडियो डकुमेन्ट्री (कपिलवस्तु परिचय) बनाएर प्रत्येक जिल्लाका सरोकारवालासमक्ष प्रस्तुत गरिने र छोटो अन्तरक्रिया हुने अभियानका प्रेस संयोजक चन्द्रकान्त न्यौपानेले बताउनु भयो । उपाध्यक्ष रेशम ढकालले यो अभियान आफूहरुको मात्रै नभएर सबै जिल्लाबासीको भएको बताउनु भयो ।

संघका सचिवालय सदस्य पर्शुराम रौतारका अनुसार करिब १५ दिनसम्म हुने मेची–महाकाली यात्रामा ४० जना जति सहभागी हुने छन् । अर्कोतर्फ कपिलवस्तुमा पछिल्लो समय होटल तथा रिसोर्टमा करोडौँ लगानी भइरहको छ । तर पनि पर्यटक तथा खानेबस्ने मानिसको अभावमा लगानी डुब्ने स्थिति हुँदा यस अभियानले उनीहरुलाई पनि माथि उकास्न टेवा दिने रौतारले बताउनु भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ९ : ३० बजे