घोराहीका सहायक प्रधानाध्यापक घरको आँगनमै मृत फेला


दाङ ।
दाङ घोराहीका एक शिक्षक घरको आँगनमै मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका वडा नं .१० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका हुन्। उनी मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन्। शुक्रबार बिहान बस चालक घिमिरेलाई लिन उनको घर पुगेका थिए। तर उनी मृत भेटिएपछि चालकले छिमेकी र प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार घिमिरे बिहीबार राति घरमा एक्लै थिए। उनकी श्रीमती र बच्चा माइती गएका थिए। घिमिरेको राति आफ्नै घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी रिजालले बताए। ‘शव घरको दोस्रो तल्लाको शौचालयमुनि आँगनमा फेला परेको हुँदा घिमिरे राति शौचालय जाने क्रममा लडेर मृत्यु भएकोजस्तो देखिएको छ’, उनले भने।

घिमिरेको कोठामा मदिरा समेत फेला परेको हुँदा मदिरा सेवनपछि शौचालय जाने क्रममा उनको लडेर घटनास्थलमै मृत्यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिए। उनका अनुसार शव नियाल्दा गाला धस्सिएको र नाक, मुखबाट रगत आएको देखिएको भए पनि अन्त कतै शरीरमा चोटपटक देखिएको छैन।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको हुँदा रिपोर्ट प्राप्त भएपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस