१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गहुँको भाउ किलोमा ५ रुपैयाँ बढ्यो, मैदा र पिठो उद्योगले खरिद गर्न छाडे



वीरगंज ।
वीरगंज। बारा–पर्सा औद्योगिक करिडोरका मैदा तथा पिठो उद्योगहरुले ५ दिनदेखि नयाँ गहुँ खरिद गर्न छाडेका छन्। एक सातामै गहुँ किलोमा ५ रुपैयाँ बढेपछि भाउ स्थिर नभएको भन्दै खरिद गर्न हिचकिचाएका हुन्। उनीहरुले नयाँ गहुँमा चिस्यान बढी हुने र कुहिने सम्भावना बढी हुने भएकाले भण्डारण गर्न समस्या हुनुका साथै भाउ पनि दिनप्रतिदिन बढिरहेकाले खरिद गर्न रुचि नदेखाएको उद्योगीले बताएका छन्।

वीरगंज करिडोरका एक व्यवसायीका अनुसार वैशाख दोस्रो सातादेखि सबै गहुँ भित्र्याएर किसानले दुई साता राखेपछि वास्तविक वजन पनि आउने र कुहिने डर नरहेपछि खरिद गर्ने सोचमा रहेको बुझिएको छ। साथै, उद्योगी–व्यवसायी वैशाख दोस्रो सातादेखि गहुँको माग घट्दा भाउ केही घट्ने भन्दै पर्खिरहेका छन्। एक साता अघि गहुँको भाउ किलोको २५ रुपैयाँ थियो भने अहिले ३० रुपैयाँमा पुगेको छ।
करिडोरका ८ वटा मैदा र पिठो उत्पादक उद्योगमध्ये फाटफुटले खरिद गरे पनि आधादर्जनभन्दा उद्योगले गहुँ खरिद बन्द गरी ’पर्ख र हेर’को अवस्थामा पुगेको वीरगंजका उद्योगी व्यवसायीहरुको विश्लेषण छ। वीरगंजमा सुरेश केडिया सञ्चालक रहेको वीरगंज खाद्य उद्योग र जगदम्बा समुहको माँ दुर्गा (एमडीएस) उद्योगले मात्र महँगोमा गहुँको खरिदारी गरिरहेको छ भने ओम फ्लोर, चाओसति, व्यवसायी मुकेश अग्रवालको उद्योग, कलैया र हेटौडाका दुई उद्योगले गहुँ किन्न बन्द गरेका हुन्।

व्यवसायीका अनुसार यस्तै गरी नयाँ गहुँको मूल्य बढदै गए पिठोको मूल्य पनि बढ्नेछ। कोरोना संक्रमण अघि र पछि गहुँ सस्तो पाएर पिठो किलोमा ४५ रुपैयामै थोकमा बिक्री गर्दै आएको अवस्था थियो।

कोरोनामा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई एक रुपैया किलोमा गहुँ र दुई रुपैयाँमा चामल राहतस्वरुप बाड्दा नेपाली उद्योगीले पनि भारतबाट पनि सस्तो दरमा गहुँ आयात गर्न पाएका थिए। स्वदेशमा उत्पादित गहुँ बजारमा आएका बेला खरिद गरी भण्डारण गर्ने भएका उद्योगी भाउ देखेर अझ बड्न सक्ने आकलन गरिरहेका छन्।

भारतबाट आयात गरेर ल्याउँदा हाल मूल्य, ढुवानी र भन्सार महसुलसहित प्रतिकिलो ३२ रुपैयाँ (भारु २०) पर्ने गरेको छ। नेपाल सरकारले चालू आर्थिक वर्षका गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३१ सय २५ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७७ शनिबार ००:००  ४ : ३१ बजे