२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

सन्दर्भ फ्लोर क्रसः प्रधानमन्त्री ज्यू तपाइँलाई कसले कारबाही गर्ने ?



कपिलवस्तु ।

२९ मार्च २०२१ मा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरे । कारबाही पनि यस्तो कि पार्टीबाट ६ महिनाका लागि निलम्बन । प्रधानमन्त्रीको त्यो कारबाहीमा प्रदेश इन्चार्ज युवराज ज्ञवाली, वैचारिक नेता घनश्याम भुसाल लगायतका नेता परेका छन् । ओलीले क्रमिक रुपमा अरु नेतालाई यो या त्यो निहुँमा भटाभट कारबाही गर्दै जाने सुरमा छन् ।

यसै सन्दर्भमा ७८ वैशाख ३ गते प्रधानमन्त्री केपी ओलीलाई नै चक्मा दिने गरी कर्णाली प्रदेशमा फरक खालको घटना भयो । अर्थात् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरी विश्वासको मत दिए । जसका कारण माओबादी केन्द्रका सांसद बनेर मुख्यमन्त्री बनेका शाहीको प्रधानमन्त्री पद अब १ बर्षका लागि जोगियो । यसले गर्दा एमाले ओली समुहको निद्रा हराम भएको छ भने नेपाल पक्षले यस घटनालाई एमालेभित्रको ‘सबक’को रुपमा लिएका छन् ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न केपी शर्मा ओलीले ह्विप नै जारी गरेको स्थितिमा ज्वालासहितका ती सांसदले टेरेनन् । त्यसपछि ओली समुहले उनीहरुमाथि दलीय व्यवस्था र ऐन अनुसार गर्न मिल्ने कारबाही गर्ने जनाएको छ । ओलीका अनुसार ’फ्लोर क्रस’ गर्ने यी सांसदमाथि हदैसम्मको कारबाही हुने छ ।

प्रधानमन्त्री केपी ओली ज्यू ? आफ्नो भजन गाउने र गुटमा आउनेहरुलाई तपाई तुरुन्तै मन्त्री दिनुहुन्छ । घाँटीमा पदवी र विभुषण भिराइदिहाल्नु हुन्छ । कतिले बिभिन्न नियुक्ति पाउँछन्, कतिलाई जागिर मिलाइदिनुहुन्छ ? यति मात्र होइन पैसा बाँडेर सामाजिक संजालभर हजारौँ यस्ता साइबर स्याल भर्ती गर्नु भएको छ कि तपाईको विरुद्धमा बोलिहाल्यो भने अरिंगाल झैँ जाइलाग्छन् र टोक्छन् । जसको कमाण्डरको रुपमा भन्दा पनि लाज हुने प्रेस सल्लाहाकार नामक सूर्य थापालाई नियुक्ति दिनु भएको छ । तपाईको स्वस्ति गर्न । तपाईको भजन गाउन । तपाईको गुटमा रमाउन विचरा यी बबुराहरु सक्लान् । नगरुन् पनि कसरी उनीहरुले तपाईको नुन खाएका छन् । र ताप दिनु सूर्यको धर्म भएजस्तै तपाईको दास बन्नु उनीहरुको परम् धर्म हो ।

तर प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, ती ज्वालाजस्ता पार्टी बनाउन लागेका हजारौँ ज्वालाहरु अब तपाईको रैती बन्न सक्दैनन् । तपाईको मनपरितन्त्र, अराजकता, तपाईको बदख्वाईँ, तपाईको अहंकारको दास बन्न सक्दैनन् ।

तपाईको कारबाहीको धम्कीका बाबजुत पनि उनीहरुले भनेका छन् ‘हिजो आवश्यक पर्दा सरकारबाट राजीनामा दियौं। सांसद पद गए पनि हामी त्यसका लागि तयार छौं। पार्टीमा उठेका समस्याहरू व्यवस्थापन नगर्दाखेरी पार्टीमा यस्ता झट्काहरू व्यहोर्नु पर्छ भन्ने हेक्का राखेर नेतृत्वले पार्टीलाई मिलाउने, पार्टीभित्रका समस्या व्यवस्थापन गर्ने काम गर्नुपर्छ भन्ने कुराको दबाब र सन्देश दिन हामीले फ्लोर क्रस गरेको हो।’

संसार बुझ्न सक्ने ल्याकत भएका तपाईले उनीहरुको यो भनाई र मर्म कति बुझ्नु भयो कुन्नी मलाई थाहा भएन् तर फ्लोर क्रस गर्ने यी साहसिला सांसदले एमालेको एकता र भविष्यबारे राम्रो दृष्टिकोण पस्केका छन् । सलाम छ ती माननीयहरुलाई मेरोतर्फबाट । तपाईले एउटा पनि पार्टी अनुशाषन नमान्ने अनि यी सांसद र नेताले कसरी पार्टी अनुशाषनविपरित काम गरे ? के तपाइले यिनीहरुलाई कारबाही गर्न मिल्छ ? कदापी मिल्दैन ।

यो भनिरहँदा हिजोलाई पनि सम्झनुस् प्रधानमन्त्री ज्यू ।वास्तवमा पार्टीमा जेजे भइरहेको छ त्यसको जिम्मा तपाई स्वयम्ले लिनु पर्दछ । पार्टी एकता पनि तपाईले नै गरेको हो एक कुनामा बसेर । पार्टी एकता गर्ने बेलामा तपाईले कुनै कार्यकर्तालाई सोध्नु भएन । त्यसपछि नेकपा फुट उन्मुख भयो । त्यो पनि तपाईकै कारण भएको थियो छर्लङ्गै छ । किन कि तपाई पार्टीको अध्यक्ष हो । यसमा पुष्पकमल दाहाल प्रचण्ड अनि माधव कुमार नेपाल लगायतलाई दोषको भारी बोकाएर तपाई उम्कन सक्नु हुन्न ।

प्रचण्डसंग मिल्दा त नेपाल र झलनाथ खनाल तपाइलाई चाहिएन । भीम रावल । युवराज ज्ञवाली चाहिएनन् । प्रचण्ड पाएपछि तपाईले उनीहरुलाई भित्तामै च्यापेको हो नि । त्यसको विवेचना मैले गर्नु पर्दैन । त्यो घामजस्तै छर्लङ्ग छ । अनि एकता भंग भएपछि एमाले र माओवादी पहिलेकै स्थितिमा ब्यूँतिए । तपाईले नै एकताको भावना विपरित गर्नु भयो । तर तपाईले त आफ्ना सहोदर सहकर्मी छोडेर भाडाका मान्छेलाई पार्टीमा स्पेस दिनुभयो । मन्त्री बनाउनु भयो । रावल, ज्ञवालीजस्ताका पद खोसेर भाडाका मान्छेलाई दिनुभयो । अनि पार्टीभित्रको एक हुने सम्भावनाभित्र कालो बादल मडारिदिन पुग्नु भयो । पुरानो भएकाले मैले तपाइले गरेको संसद विघटनको प्रतिगामी कदमको विवेचना गरिनँ ।

तपाईको यस्तो स्वेच्छाचारिता, अराजकता, घमण्डलाई कम्युनिष्ट आन्दोलनमा जीवन उत्सर्ग गर्न लागेका कर्णालीका ज्वालाजस्ता हजारौँ लाखौँ कार्यकर्तालाई कदापी पच्य छैन । पार्टीमा उठेका समस्याहरू व्यवस्थापन नगर्दाखेरी पार्टीमा यस्ता झट्काहरू (कर्णाली फ्लोर क्रस ) व्यहोर्नु पर्छ भन्ने हेक्का अब तपाइले राख्नै पर्दछ । यो त तपाईको अराजकतामाथिको एक दृश्य मात्रै हो पिक्चर अभि बाँकी हे भन्ने कुरा त अब अरु अरु प्रदेशमा पनि देखिँदै जाला । हेक्का राख्नू प्रधामन्त्री ज्यू ।

मलाई लाग्छ तपाई पनि मदन भण्डारीको आदर्श पढेरै यहाँसम्म आउनु भएको हो । उहाँले भन्नुभएको छ ‘जिन्दगीबाट राजिनामा दिन तयार हुनुपर्दछ, जाबो सांसद, मन्त्री त के हुन् र’ ? यस अर्थमा ज्वालाहरुले जे गरे पार्टी हितको लागि एकदमै ठिक छ । अब ओलीको अराजकताविरुद्ध देशभरका नेता, कार्यकर्ता, बुद्धिजिवी, युवा विद्यार्थी सबै यसैगरी उठ्नु पर्दछ । किनकि यो पार्टी केपी ओलीको मात्र होइन । लाखौँ कार्यकर्ताको हो । अरु तपाईको इच्छाविपरित लाग्दा कारबाही हुने अनि तपाईले एमालेजस्तो मुलुकमै सबैभन्दा बढी संगठित र धेरै कार्यकर्ता भएको संगठनलाई भताभुङ् गराउने तपाईलाई कसले कारबाही गर्ने ? जवाफ दिनुहोला । तपाई अध्यक्ष हो भनेर कसैले कारबाही गर्न मिल्दैन भनेर कसले भन्यो ? तपाइलाई पनि कार्यकर्ताले मज्जाले कारबाही गर्न पाउँछन् ।

ओली ज्यू, तपाईले बुझ्नै पर्ने कुरा ? तपाईका कार्यकर्ता जसले तपाईलाई अध्यक्ष बनाए, जसको टाउकोमा टेकेर तपाई मुलुकको प्रमुख कार्यकारी पदमा हुनुहुन्छ के तिनीहरु तपाईका दास हुन् ? पार्टी बनाउन जीउ ज्यान दिएर सेतै दारी जुँगा फुल्दासम्म पनि हौसला नटुटाई सम्भावनाको खोजिमा लाग्ने हजारौँ नेता कार्यकर्ता तपाईका रैती नै हुन् ?तपाइले जेजे भन्नु भयो त्यो मानै पर्ने अनि तपाईकोविरुद्धमा बोल्यो कि पोल्यो । यस्तो पनि हुन्छ ? कदापी हुन सक्दैन ?

उनीहरु पार्टीलाई सति साल झैँ ठिंग उभ्याउने मेरुदण्ड हुन् । त्यसैले अब सबैलाई मिलाएर लैजान हुमर्त नहार्नुस् । तपाइले माधव नेपाललाई सच्चिएर आउन भन्नु भएको छ, कुनै हदसम्म ठिकै होला तर समग्रमा यो हास्यास्पदबाहेक अरु केही होइन । अब तापई आफ्नो स्वेच्छाचारिता, अहंकार त्याग्नुस् । घमण्ड त्याग्नुस् । कम्युनिष्ट आन्दोलन बदनाम बनाएकोमा पशुपतिनाथको मन्दिरमा गएर प्रायश्चित गर्नुस् र भन्नुहोस् माधव नेपालहरु अब पार्टीलाई तिमी लिड गर ।

मलाई अबको बाँकी समय प्रधानमन्त्री मात्र बन्न सघाऊ । पार्टीमा म सल्लाहाकार बनेर बसौँला । घनश्यामहरु पार्टी तिमी चलाऊ । आजको आजै एमाले एकतावद्ध हुनेमा २ मत छैन । तर समस्या केपी ओली ज्यू तपाइ त्यो गर्न सक्नु हुन्न, तपाइको अभिमानले यो गर्न दिँदैन ।तर अब तपाईले त्यो खालको त्याग गर्ने बेला आएको छ एमाले बचावटको खातिर ।

यस खालको त्यागमा तपाई लाग्नु भयो भने अझै पनि एमाले एक ढिक्का हुन सक्ने छाँटकाँट छ होइन तपाई साइबर स्यालका कमाण्डर सूर्य थापा जस्ताको लहडमा लागेर अझै पनि आत्मालोचना गर्नु हुन्न भने पार्टी आआफ्नो बन्ने छ र तपाइ पनि माधव नेपाल पनि इतिहासमा नउठ्ने गरी सुत्नुहुने छ । सिंगो एमाले संगठनलाई प्यारालाइसिस लाग्ने छ ।

कुरा रह्यो । तपाईको प्रधानमन्त्री पदको । २०७२ सालमा प्रधानमन्त्री बन्दा पदको कद जसरी उच्च बनाउनु भएको थियो त्यो निचोरिएर अहिले कमिलो भएको छ , प्रधानमन्त्री ज्यू । जति नै गर्दै छु भने पनि त्यस खालका लज्जास्पद कामले गर्दा अरु सबै राम्रो काम ओझेलमा परेका छन् । दुई तिहाइको अवसर पनि तपाईले खेर फाल्नु भयो । यति धेरै काम गर्ने चान्स अब दशकौँसम्म कम्युनिष्टले पाउने छैनन् । सायद यो कम्युनिष्ट पार्टीको लागि अन्तिम अवसर हुन सक्छ । भोलिका दिनमा सायद यस्तो अवसर आउँदैन । तपाइले जति विकासको कुरा गरे पनि जनतालाई पत्यार छैन । भिजनेवल नेता त मैले पनि मानेकै हुँ । छु । तर तपाई यही अहंकारमा लाग्नु भइरह्यो भने तपाई लाई त्यो उपमा दिनु बेकार हुने छ ।

त्यसैले तपाई तपाइँले नै बनाएको सुखी नेपाली समृद्ध नेपाल सपनालाई साकार पार्न माधव नेपालजस्ता, झलनाथ खनालजस्ता, घनश्याम भुसालजस्ता, भीम रावलजस्ता मानिसलाई साथमा लिएर जानुस् । एक हुनुहोस् । ‘भाइ फुटे गवाँर लुटे’ भनेजस्तो तपाइको घर झगडाका कारण अरुले फाइदा नलुटुन् । जीवनमा गल्ती स्विकार गर्नु आम मानिसको धर्म हो । हिजो के के भयो भनेर होइन गल्तीको समिक्षा गरेर ? सबैले आत्मालोचना गरी एमाले पार्टीलाई फेरि एक ढिक्का पार्नतर्फ लाग्नुहोओस् ।होइन भने तपाईको १४ बर्षे जेल जीवनले तपाईलाई नै धिक्कार्ने छ ।
चन्द्रकान्त न्यौपाने, बाणगंगा नगरपालिका, कपिलवस्तु ।

प्रकाशित मिति : ४ बैशाख २०७८ शनिबार ००:००  ९ : ४५ बजे