१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्थानीय सरकारलाई प्रश्नः समयमै बुद्धि पुर्‍याउने कि पछि चुकचुकाउने ?



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

मुलुकमा कोरोना संक्रमण फैलिरहेको स्थितिमा नियन्त्रण र रोकथामको लागि संघिय सरकारले अवस्था अनुकुल गर्नू भनेर स्थानीय सरकारलाई निर्देशन दिएको छ । यसको अर्थ आफ्नो पालिकाको अवस्था हेरेर लकडाउन गर्ने या सचेततालाई ध्यान दिने भन्ने हो । तर मुलकका केही स्थानीय तहमध्ये धेरैले ठोस निर्णय लिनै सक्दैनन् । हरेक परिस्थितिमा यो सिद्ध भएको छ कि घटना नहुँदा सम्म तिनीहरु मतलब राख्दैनन् जब समस्या पर्छ तब के गरौँ र कसो गरौँमा लाग्छन् ।

अहिले कोरोनाको दोश्रो लहर देखा परेको छ । देशब्यापी रुपमा संक्रमितको संख्या सयौँ कटेर हजारौँको स्थितिमा छ । ३१ सय बढीले ज्यान गुमाए । भेन्टिलेटर र आइसियूम सयौँको संख्यामा मानिस जीवन मरणको दोसाँधमा छट्पटाइरहेका छन् । परिवारको पीडा उस्तै छ । यस्तोमा कपिलवस्तु पनि पर्दछ ।

कपिलवस्तुमा पछिल्लो संक्रमणमा ५ जनाले ज्यान गुमाएका छन् भने १ सय १० बढी सक्रिय संक्रमित छन् । त्यसमध्ये ८२ जना उपचाररत छन् भने ८२ जना त सक्रिय संक्रमित छन् अर्थात् लक्षण देखिएका छन् । दोश्रो लहरमा यो जोखिमपूर्ण स्थिति नै हो । कोरोना जाँच नभएकाले को कति संक्रमित भए तथ्यांक छैन । किनकि जाँच नै छैन । जानकार भन्छन्– भुसको आगोजस्तै भित्रभित्रै कोरोना सलिकरहेको छ । तर यसमा जिल्ला प्रशासन र स्थानीय पालिका बेखबर छन् ।

भाषण र बैठकमा त सतर्कताको पाठ घोकाइएको छ तर कार्यान्वयन नत नागरिकबाट हुन सकेको छ नत सरोकारवाला निकायबाट । कडाई गर्ने भनिए पनि जनप्रतिनिधि र ठुलाठालु ब्यक्ति र संघसंस्थाका प्रतिनिधिले नै स्वास्थ्य मापदण्ड उलंघन गरिरहेको पाइन्छ । सयौँ सहभागि भएको भोज भतेर, विववाह पुजाआजामा तिनै निर्देशन जारी गर्नेहरु गएको पाइन्छ । आफ्नै आँखा अगाडी स्वास्थ्य मापदण्डको धज्जी उडेको देखिए पनि यतिखेरसम्म वेवास्ता गर्दछन् कि जतिखेरसम्म कोही मर्दैन या बढी संक्रमित भेटिदैनन् ।

१० पालिका रहेको कपिलवस्तुका अधिकांस पालिका भारतसंग नजिक छन् । भारतमा दिनहुँ ३ लाखभन्दा बढी संक्रमित थपिरहेका छन् । त्यसको असर सिमा नाका भएकाले कपिलवस्तुमा सोझै परेको देखिन्छ । तर जिल्ला प्रशासनले पनि यस विषयमा निर्देशन जारी गर्नेबाहेक कोरोना नियन्त्रणमा ठोस निर्णय लिन सकेको छैन । यता स्थानीय तहलाई त हुने भवितव्यमाथि कुनै मतलब नै छैन ।

अहिले परीक्षाका नाममा विद्यालय धमाधम सुचारु छन् कपिलवस्तुमा । विद्यालय बन्द गर्नु पर्दछ भन्दा जनप्रतिनिधिलाई परीक्षा ठुलो लाग्दछ । रुपन्देहीमा विद्यालय बन्द गर्नु पर्दछ भन्दाभन्दै अटेर गरेर चलाउँदा शनिबार छात्राबासमै १० कक्षामा पढ्ने छात्राको निधन भयो । अहिले त्यहाँ तनावपूर्ण स्थिति छ भने विद्यालयका अध्यक्षलाई मृतकका परिवार र आफन्तले कालोमोसो दलिदिएका छन् । त्यसपछि बल्ल तिलोत्तमा नगरले सबै विद्यालय र परीक्षा बन्द गरेको छ ।

प्रतिक्रिया सुन्दा कपिलवस्तुमा पनि यस्तो नतिजा कुरेकोजस्तो देखिन्छ । कपिलवस्तुको बाणगंगा लगायतका कतिपय स्थानीय तहमा अहिले परीक्षा धमाधम चलिरहेका छन् । अभिभावकलाई सोध्दा विद्यार्थी विद्यालय नपठाउने विचारमा छन् तर परीक्षा भइरहेकाले पठाउन बाध्य भएको सुनाउँछन् ।
कोरोनाको दोश्रो लहरले देशब्यापी रुपमा बालबालिकामा संक्रमण देखिएको छ । ठुला सहरमा विद्यालय बन्द भएको स्थितिमा कपिलवस्तुमा पनि जोखिम बढेको छ । जाँच नभएको हुनाले यहाँ कोरोना संक्रमितको संख्या कम भएजस्तो देखिन्छ तर घरघरमा कोरोना रहेको जानकार बताउँछन् ।

भारतबाट दैनिक रुपमा कोरोना बोकेर नेपाल भित्रिरहेका छन् । यसमा पालिकालाई कुनै मतलब छैन । कृष्णनगर, शिवराज, कपिलवस्तु, मायादेवी, विजयनगर, यशोधरा, शुद्धोधन, बाणगंगा, महाराजगंज र बुद्धभूमि नगपालिका र पालिकाहरुहरुमा क्वारेनटाइन र आइसोलेसन सेन्टर छैनन् भने विदेशबाट आएकालाई राख्ने होल्डिङ सेन्टरसम्म छैन । मानिस खुलेयाम हिँड्हिकेका छन् भारतबाट आएर । संक्रमित भयो भने मानिसको उपचार गर्ने ठाउँ छैन । मानिस उपचार नपाएर मर्न थालेका छन् ।

बाणगंगाको वडा नम्बर ३ मा एक जना ३३ बर्षिय पुरुष उपचार नपाएरै मृत्युवरण गर्न बाध्य भए । त्यतिमात्र होइन भारतकोजस्तो हालतमा नेपाल पुग्यो र कपिलवस्तु पनि चपेटामा पर्योृ भने के कसरी विरामीको व्यवस्थापन गर्ने, शव कहाँ ब्यवस्थापन गर्ने यो दुरदर्शी सोचमा छैनन् पालिका प्रमुखहरु । भलै स्थिति नियन्त्रणबाहिर गयो र शवहरु अलपत्र हुने स्थिति आयो भने तपाईहरुको तयारी के छ भन्दा यस्तो असुभ नबोल्नुहोस् भन्दै उल्टै पत्रकारमाथि प्रतिप्रश्न गर्दै गैरजिम्मेवार बन्छन् । यसले गर्दा आम नागरिक त्रसित छन् ।

नगरका वैठकमा हाट बजारवालाले बजार बन्द गर्न नहुने बताउँछन्, उद्योग ब्यापार संघले ब्यापार ब्यवसाय बन्द गर्न हुँदैन भन्छन्, शिक्षण संस्थाले विद्यालय चलाऔँ भन्छन् तर यसमा पालिकाहरुले आफ्नै बोल्ड डिसिजन लिन सक्दैनन् र अरुको चेपुवामा पर्छन् । नगरको वैठकमा भएको निर्णयलाई अरुले मान्दैनन् ।

परीक्षा भनेर सुचारु नै गरियो र विद्यार्थी, शिक्षक या कर्मचारी कोभिडको कारण मर्यो भने कसले जिम्मा लिने ? विद्यालयमा कोरोना छैन भनेर कसरी भन्न सकिन्छ ? पढाउने शिक्षक र फरक पृष्ठभूमि र स्थानबाट आएका विद्यार्थी के सुरक्षित नै छन् त ? यस्तो ुरामा मतलब नगरी नगरले विद्यालय संचालनको अनुमति दिँदा स्थिति भहावह हुने देखिन्छ ।

हुन त पालिकाहरुले दिनहुँ वैठक बसेर यसो नगर उसो नगर भनेर निर्देशन दिइरहेका छन् । तर त्यसको पालनामा कोही छैनन् । निर्देशन जारी गर्नेहरुले नै स्वास्थ्य मापदण्ड उलंघन गरिरहेका देखिन्छ, अनि नागरिकलाई यसो गर, उसो नगर भनेर कसरी टेर्छन् ? प्रहरीले जिल्लामा अहिले तपाईको मास्क खोइ नामक सचेतना अभियान चलाउन बाध्य छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसंग बुझ्दा अवस्था अनुसार निर्णय हुने जानकारी प्राप्त भयो । के यो भनेको सयौँ संक्रमित हुनै पर्ने, मानिस मर्नु नै पर्ने स्थिति हो त ? यो नियतिको सिकार भएपछि मात्र लकडाउन या कफ्र्यु गर्ने ? यो होइन त्यतिखेरसम्म कोरोना समुदायस्तरमा छिरिसको हुन्छ । त्यसैले केही भवितव्य नहुँदै बोल्ड निर्णय गर्ने र यो कहालीलाग्दो पीडाबाट जनतालाई सुरक्षित राख्न तत् पालिका र त्यहाँको प्रशासन कस्सिनु पर्दछ ।

आफू कोरोना संक्रमित भइ नछट्पटिदा र आफन्त या आफ्नै घरको मृत्यु नहुँदासम्म जनताले कोरोनालाई सामान्य रुपा लिने गरेको पाइन्छ तर यो ठुलो विडम्बना भएको चिकित्सक बताउँछन् । यसैगरी आम नागरिकले पनि सचेत रहँदै घरभित्रै सिमिति रहनु पर्दछ । पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्दछ । प्रहरीलाई देखेपछि मास्क लगाउने इत्यादि गर्नु हुँदैन ।

त्यसैले अब प्रत्येक पालिकाको ध्यान स्वास्थ्य मापदण्ड पालनाको अनुगमन र कडाईसंगै संक्रमितको उपचार कसरी गर्ने ? अक्सिजन र भेन्टिलेटरको ब्यवस्था कसरी गर्ने ? बाहिरबाट आएकालाई कसरी राख्ने ? मृत्यु भइहाले कहाँ ब्यवस्थगापन गर्ने ? लगायतमा मूर्त रुपमा जानु पर्दछ र सोही अनुसारको तयारीमा हुनुपर्दछ । यदि यसो भएन भने भोलि ठुलो संकटमा फस्नेछन् मानिसहरु । जसको ज्वलन्त उदाहरण भारत छँदै छ । जहाँ लासको चाङ छ । अन्त्येष्टि गर्ने ठाउँ छैन । लास जलाउन दाउरा सकिएर पेलेको उखुँको डाँठमा मानिसको लुछाचुँडी छ । बाटाभरी, पेटीभरी संक्रमित छन् । उपचार नपाएर कतिले अकालमै ज्यान चढाए । बन्द समाधान होइन तर बन्द समाधान पनि हो । त्यसैले यसबाट पाठ सिकेर अब त केही ठोस निर्णय गर्ने कि ?

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  ४ : २० बजे