६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुमा जाँच गरिएकामध्ये ९४ प्रतिशतसम्मलाई कोरोना, तुरुन्त लकडाउन गरौँ !



मायादेवी अनलाइन, चारनम्बर ।

कोरोनाको दोस्रो लहरले कपिलवस्तुमा भयावह रुप लिने निश्चित भएको छ । पहिलो चरणको कोरोनाभन्दा तेश्रो चरणमा प्रवेश गरेको कोरोनाको इन्डियन भेरियन्टले जिल्लामा स्थिति चिन्ताजनक बनेको छ । पहिलो केस चैत्र १७ गते देखिएकोमा अहिलेसम्म आइपुग्दा ३३६ संक्रमित भएका छन् भने १३ जनाले ज्यान गुमाएका स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । विहीबार मात्रै जिल्लामा ५ जना संक्रमितले ज्यान गुमाएका थिए ।

यो पनि…

कपिलवस्तुमा भयावह बन्दै कोरोना, एकै दिन ५ जना संक्रमितको ज्यान गयो

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग शुक्रबार विहान कुराकानी गर्दै घिमिरेले जाँच गरिएमध्यको तथ्यांक विश्लेषण गर्दा यो ९४ प्रतिशतसम्म कोरोना पोजेटिभ देखिएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो– ‘अहिले थोरै स्याम्पल कलेक्सन भएको छ । एन्टिजेन टेस्ट र पिसिआर टेस्ट कम छ । धेरै टेस्ट हुन बाँकी छ । अहिले हामी भैरहवामा स्याम्पल पठाएका छौँ । जाँच भएकामध्ये ८९ देखि ९४ प्रतिशतसम्म कोरोना पोजेटिभ केस देखिएको छ । यो दरले जिल्लाको भयावह स्थिति देखाउँछ ।’

उहाँले टेस्ट दर बढ्दा धेरैमा कोरोना भएको हुन सक्ने बताउनु भयो । भारतबाट नेपाल भित्रनेको संख्या बढ्दै गएको भन्दै स्थानीय पालिकाले कन्ट्याक ट्रेसिङ बढाउनु पर्ने बताउनु भयो ।

यस्तो स्थितिमा सबै पालिकाहरुले अबिलम्ब अक्सिजनसहितको वेड तयार बनाउनु पर्ने बताउनु भयो । उहाँले बजेट रकमान्तर गरेर भए पनि प्रत्येक पालिकाले कम्तिमा पनि अक्सिजनसहितको १० बेड सहितको आइसोलेसन वार्ड बनाउनु पर्ने बताउनु भयो ।

यो कुरामा ढिलाई भए संक्रमितहरुले अकालमै ज्यान गुमाउनेतर्फ पालिकाको ध्यानाकर्षण गराउनु भयो । यस कार्यमा ढिलाई गर्दै गर्न नहुने उहाँको भनाई छ।

उहाँले जिल्लामा कम्तिमा पनि १० दिन निशेधाज्ञा जरुरी भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘संक्रमण समुदायमा फैलिइसकेपछि र मानिसको मृत्यु भइसकेपछिको निशेधाज्ञाको अर्थ छैन । तुरुन्त प्रशासनले निशेधाज्ञा गरे हामीले कोरोनाको चेन ब्रेक गर्न सक्छौँ होइन भने दिल्लीका तस्विर फोटोमा मात्र नभएर यहीँ नै देख्नु पर्ने स्थिति हुन सक्छ ।’

सामान्य रुघाखोकी, ज्वरो, सुख्खा खोकी आए पनि तत् ब्यक्तिहरु कम्तिमा पनि छुट्टै अर्थात होम आइसोलेसनमा बस्नु पर्ने बताउनु भयो । यसो गर्दा कोरोनाको संक्रमण अन्यत्र फैलने सम्भावना कम हुने उहाँको भनाई छ ।

स्थानीय मेडिकलहरुले बाइडल टेस्ट गरी दुरुपयोग गरिरहेको भन्दै त्यसलाई तत्काल बन्द गरीे कल्चर गर्न आग्रह गर्नुभएको छ । शंकाष्पद ज्वरो आएको, सुख्खा खोकी लागेको, ढाड शरीर दुखेको आधारमा बाइडल टेस्ट गर्न नुहुने बताउनु भयो । पैसाको लोभमा जनताको स्वास्थ्यमा खेलवाड नगर्न उहाँले स्थानीय मेडिकलहरुलाई चेतावनी समेत दिनुभयो ।

विस्तृत रेडियो अन्तर्वार्ता

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ८ : १५ बजे