१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शिवराज नगरपालिलाई नगरसभाको पूर्व सन्ध्यामा आठ बुदेँ सुझाव



सरोज पौडेल ।

नगरसभाको पूर्व सन्ध्यामा आठ बुदेँ सुझाव

शान्तिमा अग्रदुत भगवान गौतम बुद्वको जन्मस्थल कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित एतिहासिक स्युराज क्षेत्र तथा प्रसिद्व धार्मिकस्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिकाकाको नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निर्णयबाट साविकका शिवपुर, बिरपुर, चनई, जभावारी, बिशनपुर गाविसलाई समेटेर स्थापना गरिएको हो । नेपाल सरकार २०७३/११/२७ गतेको निर्णयले शिवगाढी, थुनिया र लालपुर गाविसलाई गाभेर हालको शिवराज नगरपालिका बिस्तार गरिएको हो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पछि शिवराज नगरपालिकाले चार बर्ष ब्यतित गरेको छ । यस बीचमा नगरपालिकाको बिकाश नभएको हैन, बिकास भएको छ । तर नगरपालिका भए पश्चात् पहिलो जन निर्वाचित जनप्रतिनिधिले दीर्घकालीन रुपमा अर्थ राख्न सक्ने खालको योजनाहरु कती समाबेश भए भन्नेबारे समयले नै मूल्यांकन गर्ने छ ।

यो समय देखिने गरि साविकका गाविसहरुलाई जोड्नको निम्ति सडक निर्माण, पुल निर्माण, वडा कार्यालयहरु, बिद्यालयका भवनहरु निर्माण भएका छन । यो कार्य सराहनीय छन । अहिले हामी स्वास्थ्य क्षेत्रमा कोरोना भाइरसबाट बिश्व स्तरमै ठूलो समस्यासंग लडिरहेका छौ । यही समयमा शिवराज नगरपालिकाले नगरसभा तयारी पनि गरिरहेको छ । अब शिवराज नगरपालिकाले दीर्घकालीन महत्व राख्न सक्ने गरि नगरसभाबाट नीति तथा कार्यक्रम तयार पार्नको लागि केही सुझावसहित राय राख्न चाहन्छु ।

१) स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कर्मचारीको मनोबल उच्च हुने गरि शतप्रतिशत भत्ताको ब्यवस्था हुनु पर्दछ । साथै स्वास्थ्य कर्मचारीहरुको बिमा साथै कामको शिलशिलामा कुनै दुर्घटना वा भवितव्य भएमा परिवारको एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनुपर्दछ । १५ शैयाको हस्पिटल र १०० शैयाको सरुवा रोग अस्पताल तुरुन्त निर्माण गर्नुपर्दछ ।

२) शिवराज नगरपालिका भित्र दुई वटा पब्लिक क्याम्पस संचालनमा रहेका छन । अहिलेसम्म क्याम्पसमा भौतिक निर्माण बाहेक अन्य कुरामा सहयोग गरेको देखिदैन । क्याम्पस संचालनको लागि भौतिक निर्माणले मात्र पुग्दैन तसर्थ कानुन बनाएरै भएपनि प्राध्यापकहरुको व्यवस्था गर्नु पर्दछ । कम बिद्यार्थी भएका बिद्यालयहरु मर्ज गरि गुणस्तरीय शिक्षाको निम्ति राम्रो गरिरहेका बिद्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ताको ब्यवस्था गर्नु पर्दछ । साथै बिषयगत शिक्षक नभएको ठाउँमा शिक्षकको दरबन्दी मिलान गर्नुपर्दछ ।

३) कृषि क्षेत्रको लागि शिवराज नगरपालिकामा प्रशस्त उर्भर जमीन छ । कृषि गर्नको निम्ति पहिलो प्राथमिकता सिंचाइ हो । सिंचाइको अल्पकालिन व्यवस्था डिप बोरिङ, ट्युबवेल र दीर्घकालीन योजना सुरही, गद्वाघाट, बेलनदी, कन्चान्हिया जस्ता खोलामा बाँध निर्माण गरि पानीको ब्यवस्था गर्नुपर्दछ । जनताले उत्पादन गरेको खाद्य बस्तु स्थानीय सरकारले खरिद गरि बिक्रि गर्ने व्यवस्था मिलाउन सकियो भने किसानले उत्पादन गरेको बस्तुको सहि मुल्य पाउने सक्दछ जसले किसानलाई आत्मनिर्भर बनाउन सकिन्छ । साथै मल बिउबिजन बिषादी खास किसानको पहिचान गरि पूर्ण अनुदानको व्यवस्था हुनु पर्दछ ।

४) युवाहरुलाई रोजगार दिनको निम्ति उद्योगधन्दा, कलकारखानाहरुमा पहिलो प्राथमिकता स्थानीयहरु दिने गरि कानुन निर्माण गर्नुपर्दछ । जसले गर्दा यही रहेका उद्योगहरुमा धेरै संख्यामा स्थानीय जनताले रोजगार पाउने छन् । उद्योग निर्माणलाई प्राथमिकता राखि नगरभित्र उद्योग स्थापना भएमा सुरुमा कर छुटको व्यवस्था हुनु पर्दछ ।

५) शिवराज नगरपालिकामा पर्यटकीय सम्भावना प्रवल छ । शिवगढी, सोनवागढ, उमरी गुफा, कणेश्वरी मन्दिर र मस्जिदहरु यहाँका मान्यता बोकेकास्थलहरु हुन । शिवगढी मन्दिर दर्शन गर्न स्वदेश तथा बिदेशबाट पनि मानिसहरु आउने गर्दछ । रमुवादह र धानखोलाबाट शिवगढी जानको निम्ति बाटो निर्माण गर्न प्रयाप्त बजेट बिनियोजन गर्नुपर्दछ । सोनवागढ पुग्न पक्की बाटो निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्दछ । यस्ता स्थलहरुको व्यापक प्रचार प्रसार गर्न सकियो भने मात्र यी स्थानहरुलाई पर्यटकीय स्थल बनाउन सकिन्छ ।

६) कोभिड १९ ले गर्दा ब्यवसायीहरु उठ्नै नसक्ने गरि थिचिएका छन् । व्यवसायीहरुलाई लकडाउन अवधीको ब्याज छुट, कर मिनाह गर्नको लागि बिशेष पहल गर्नु पर्दछ ।

७) गरिबी रेखामुनि रहेका जनताको तथ्यांक संकलन गरि गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको लागि नगर सभाबाट विशेष कानुन बनाई कार्यन्वायन गर्नुपर्दछ ।

८) कोरोनाका कारण संचार संस्था पनि थलिएका छन । समुदायमा निरन्तर सूचना प्रवाह गरिरहेका संचार माध्यमलाई बोलियो बनाउन नीति निर्माण गर्नु पर्ने देखिन्छ । समाचार लेखेरै जिविको पार्जन गरेका पत्रकारहरुको हक हितको लागि नगरपालिकाले सहयोग गर्न जरुरी छ । यसरी शिवराज नगरपालिकामा गुणस्तरीय शिक्षा, जनताको स्वास्थ्यको ग्यारेन्टी, बेरोजगारीको अन्त्य, उत्पादित बस्तुको बजार भाउ, पर्यटकीय स्थल, उद्योग स्थापना, जनताका गाँस, बाँसको ग्यारेन्टी जस्ता बिषय नगरसभाबाट पारित गर्न सके सुखी नेपाली समृद्धि नेपालको केही हदसम्म सपना पूरा हुने छ ।

लेखक पौडेल नेकपा (एमाले)का युवा नेता हुनुहुन्छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ४ : ४९ बजे